बिराटनगर: नेपालका दुर्गम क्षेत्रहरूमा बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेका डिजिटल बैंकिङको जन स्तरसम्म पहुँच क्रमशः बढ्न थालेको छ। दुर्गम मानिएका सुदूरपश्चिम, कर्णाली प्रदेशमा समेत लाखौंको संख्यामा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ क्रेडिट कार्ड, डेबिट कार्डलगायतमा डिजिटल उपकरण प्रयोगकर्ता बढ्दै गएका छन्। तथापि डिजिटल बैंकिङ प्रविधिमा बागमती अग्रपंतीमा र कर्णालीमा कम नै रहेको छ।
केन्द्रीय बैंकले भर्खरै वित्तीय क्षेत्र स्थायित्व प्रतिवेदनबाट क्रमशः दुर्गममा डिजिटल बैंकिङ सेवाको बिस्तार भएको देखाएको छ। प्रतिवेदनअनुसार दुर्गम क्षेत्रमा पुरुषमा ६ प्रतिशत र ४ प्रतिशत महिलाहरूले डिजिटल भुक्तानीको प्रयोग गरेका छन्। डिजिटल भुक्तानी प्रणालीमा सो प्रतिशतमा दुर्गम क्षेत्रमा विस्तारै पहुँच पुगेकाहरूलाई सकारात्मक मान्नुपर्ने बताउछन, डिजिटलविज्ञ तथा पूर्वबैंकर सञ्जीव सुब्बा। राष्ट्र बैंकले डिजिटल कारोबारलाई फस्टाउन नीतिगत व्यवस्थामा कानुनी फड़को मारेको उनको भनाइ छ।
यता नेपाल राष्ट्र बैंकको एक अध्ययनले प्रदेशगत रूपमा वित्तीय उपकरण (डिजिटल)का प्रयोगकर्ताको आकर्षण बढ्दो रहेको निष्कर्ष निकालेको छ। तथापि सहरी क्षेत्रलाई ओगट्न सुगम मानिएका बागमती, कोशी, लुम्बिनी, गण्डकी, मधेस प्रदेशमा डिजिटल बैंकिङका प्रयोगकर्ता बढी संख्यामा छन्। प्रादेशिक आर्थिक गतिविधि अध्ययन आर्थिक वर्ष २०२३/२०२४ को अर्ध–वार्षिक प्रतिवेदनअनुसार मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या अधिक संख्यामा बागमती प्रदेशमा छन । त्यहाँ ७६ लाख १७ हजार ५ सय ९५ ले मोबाइल बैंकिङ प्रयोग गर्दछन्। तर सबैभन्दा न्यून संख्यामा मोबाइल बैंकिङ प्रयोगकर्ताहरु कर्णाली प्रदेशमा ५ लाख ९२ हजार ९ सय ३६ को पहुँचमा यो प्रविधिको प्रयोग गर्दछन । यस्तै, मधेस प्रदेशमा मोबाइल बैंकिङ प्रयोगकर्ता २० लाख ७० हजार १ सय १४ रहेका छन्। यस्तै, कोशी प्रदेशमा २८ लाख, गण्डकीमा २२ लाख, १८ हजार, लुम्बिनी प्रदेशमा १० लाख २८ हजार र सुदूरपश्चिममा १२ लाख २ हजार हाराहारीमा मोबाइल बैंकिङका प्रयोगकर्ताहरु रहेका तथांक छन्।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिना (अप्रिल )सम्म सार्वजनिक गरेको तथ्यांकले वाणिज्य बैंक, विकास र वित्त कम्पनीको मोबाइल बैंकिङ प्रयोगकर्ताहरु देशभर २ करोड ३७ लाख ९७ हजारको आसपप्समा रहेको बताइन्छ।
यस्तै, इन्टरनेट बैंकिङ प्रयोगकर्ता पनि बढीसंख्यामा बागमती प्रदेशमारहेका छन्। जस अनुसार ७ लाख ९४ हजार २ सय १२ ले इन्टरनेट बैंकिङ कारोबार गरेका छन्। न्यून संख्यामा कर्णाली प्रदेशमा भने १४ हजार ४ सय ७८ ले इन्टरनेट बैंकिङ प्रयोग गर्छन्। यसैगरी क्रमशः इन्टरनेट बैंकिङ प्रयोगकर्ता मधेस प्रदेशमा १ लाख १७ हजार १ सय ९३, कोशी प्रदेशमा १ लाख ७० हजार, गण्डकीमा २ लाख ११ हजार, लुम्बिनी प्रदेशमा २ लाख ४९ हजार र सुदूरपश्चिममा ४४ हजार हाराहारीले इन्टरनेट बैंकिङ प्रयोग गर्नेहरुको संख्या छन्। केन्द्रीय बैंकले चालु आर्थिक वर्षको अप्रिलसम्म सार्वजनिक गरेको तथ्यांकले वाणिज्य बैंक, विकास र वित्त कम्पनीको इन्टरनेट बैंकिङ प्रयोगकर्ता देशभरमा १९ लाख ३८ हजार संख्यामा रहेको उल्लेख छ।
डेबिड कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या बढी मात्रामा बागमती प्रदेशमा र न्यून संख्यामा कर्णाली प्रदेशमा रहेको छ। सबैभन्दा बढी डेबिड कार्डका प्रयोगकर्ता भने बागमती प्रदेशमा ४९ लाख ७४ हजार ३ सय ३२ छन्। यस्तै, सबैभन्दा न्यून संख्यमा सुदूरपश्चिमाञ्चल प्रदेशमा २ लाख ५८ हजारले डेबिट कार्ड प्रयोग गरेका छन्। यसैगरी क्रमशः यसका प्रयोगकर्ता कोशी प्रदेशमा १५ लाख २३ हजार, मधेस प्रदेशमा ११ लाख २७ हजार, मधेस प्रदेशमा ११ लाख २७ हजार, गण्डकीमा १० लाख ८१ हजार, लुम्बिनी प्रदेशमा ९ लाख ७१ हजार र कर्णालीमा ११ लाख ३९ हजार हाराहारीले डेबिट कार्ड प्रयोग गरेका छन्। केन्द्रीय बैंकले चालु आवको वैशाखसम्म सार्वजनिक गरेको तथ्यांकले भने वाणिज्य बैंक, विकास र वित्त कम्पनीको डेबिट कार्ड प्रयोगकर्ता मुलुकभर १ करोड २७ लाख ८९ हजार हाराहारीमा रहेको उल्लेख गरेको छ। यता कार्डमार्फत आवश्यकताको आधारमा कर्जा लिने प्रवृत्ति पनि सबै प्रदेशमा बढ्दै छ। सुदूरपश्चिममा सबैभन्दा कम क्रेडिट कार्ड प्रयोग गरेकोमा पनि ३ हजार २ सय ६५ पुगेका छन्। सबैभन्दा बढी बागमती प्रदेशमै छन्।










