नेताजीको मृत्युमा ८१ वर्षपछि पनि रहस्य कायम

30f2eaa7-82ba-4e7c-95af-b51659bb65e7

१९४५ को विमान दुर्घटनालाई मान्न समर्थकको अस्वीकार

​नयाँ दिल्ली: स्वतन्त्रता सङ्ग्रामका महान नायक नेताजी सुभाषचन्द्र बोसको ८१ औँ पुण्यतिथिमा देशले उहाँलाई श्रद्धाञ्जली अर्पण गरिरहेको छ। यद्यपि, उहाँको निधनसँग जोडिएको रहस्य आठ दशक बितिसक्दा पनि सुल्झिन सकेको छैन। सरकारी तथा ऐतिहासिक अभिलेख अनुसार १८ अगस्ट १९४५ मा ताइवानको ताइहोकु विमानस्थल नजिकै भएको जापानी विमान दुर्घटनामा गम्भीर घाइते भई नेताजीको निधन भएको मानिन्छ। तर, उहाँका समर्थक र सर्वसाधारणको ठूलो वर्ग आज पनि यस दाबीलाई स्वीकार गर्न तयार छैन।
​नेताजीको मृत्युको सत्यतथ्य पत्ता लगाउन समय-समयमा विभिन्न छानबिन आयोगहरू गठन गरिएका थिए। सन् १९५६ मा गठित शाहनवाज खान समितिले १९४५ को विमान दुर्घटनामै नेताजीको निधन भएको र उहाँको अस्तु टोकियोको रेनकोजी मन्दिरमा राखिएको निष्कर्ष निकालेको थियो, तर सो समितिका सदस्य तथा नेताजीका दाजु सुरेशचन्द्र बोसले यसमा असहमति जनाउनुभएको थियो। त्यसपछि सन् १९७० मा गठित खोसला आयोगले पनि विमान दुर्घटनाकै पुष्टि गरेको थियो। यद्यपि, सन् १९९९ मा गठित मुखर्जी आयोगले भने १९४५ मा त्यस्तो कुनै विमान दुर्घटना नै नभएको भन्दै अघिल्ला रिपोर्टहरूलाई खारेज गरिदिएको थियो। आयोगहरूका परस्पर विरोधी प्रतिवेदन र गुमनामी बाबा जस्ता प्रसङ्गका कारण यो विषय अझै विवादित छ।

About Author

Advertisement