कोलकाता: पैगम्बर मोहम्मद विरूद्ध आपत्तिजनक टिप्पणी मामिलामा भाजपाकी निलम्बित प्रवक्ता नूपुर शर्मालाई बङ्गाल पुलिसले समन पठाएको छ। उनलाई २० जूनमा कोलकाता जिल्लाको नारकेलडाङ्गा थानामा सोधपुछको निम्ति हाजिर हुनलाई भनिएको छ। नूपुर शर्मा विरूद्ध कोलकाता बाहेक पूर्व मेदिनीपुरको कान्थी थानामा पनि प्राथमिकी दर्ता गरिएको छ। कोलकाता पुलिसको एक सूत्रले सोमबार जानकारी गराएको छ, नूपुर शर्मालाई समन पठाइएको छ अनि २० जूनमा कोलकाताको नारकेलडाङ्गा थानामा हाजिर हुनलाई भनिएको छ। यो समन नूपुर शर्माको दिल्ली स्थित आवासमा पठाइएको छ। पैगम्बर मोहम्मद विरूद्ध टिप्पणीलाई लिएर गत हप्ता बिहीबारदेखि नै राज्यभरिमा मुस्लिम समुदायको प्रदर्शन शुरू भएको छ। गत पाँच दिनदेखि लगातार विरोध प्रदर्शन भइरहेछ। आइतवार नदियामा तोड़फोड़, आगजनी र हिंसा भएको थियो जबकि सोमबार पनि उत्तर २४ परगनाको बारासातमा रेल रोकेर तोड़फोड़ गरियो। अल्पसंख्यकहरूको यस हिंसक प्रदर्शन र सार्वजनिक सम्पत्तिलाई क्षति पुऱ्याउदा यस विरूद्ध व्यवसायीहरूको संगठनले ७२ घण्टाको बन्दको आह्वान गरेको छ।









