गान्तोक: राजधानीको लिङडिङस्थित स्थानीय एक निर्माणाधीन आवासबाट चोरी भएका ११ सेट टेलिभिजनसहित पुलिसले दुई जनालाई पक्राउ गरेको छ।
सदर पुलिसका अनुसार पक्राउ पर्नेमा २४ वर्षीय धनबहादुर सन्यासी र २२ वर्षीय राजेश शर्मा छन्। चोरीसम्बन्धी घटनामा सदर थानामा २०२५ डिसेम्बर ३० मा एफआईआर दर्ता गरिएको थियो। त्यसपछि बीएनएस २०२३ को धारा ३०५(ए), ३३१(३), ११२ र ३(५) अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको पुलिसले जनाएको छ।
अनुसन्धानका क्रममा पीआई मनिष गुरुङको नेतृत्वमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूको साथबाट चोरी गरिएका ११ वटा टेलिभिजन सेट पनि बरामद गरिएको पुलिसको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सदर पुलिसले जनाएको छ।










