निमेष लामाको पहल सन्डे आर्ट हाट र इकोस्फियर

Graphic1

आधुनिकताको कथित चहलपहल र भूमण्डलीकरणको गाँस बनिसकेको वर्तमान समाज अनि युवा पिढीलाई एउटा अनुकरणीय तथा उदाहरणीय सन्देश दिनलाई एवं आफ्नै महत लक्ष्य र सपनालाई इकोस्फियरको सेरोफेरोमा रचनात्मक पहल लिएर अघि आएका छन् निमेष लामा। कालचिनी खण्डको राईमाटाङ चियाबारीको आउट डिभिजन बाइसधुरा गाउँमा कमाने आमाबाबाको कोखमा हुर्किएर हाल २४ वसन्त टेक्दै हिँड़ेका जाँगरिला युवा निमेष लामाले निमेषभरको लागि मात्र नभएर सम्पूर्ण युवा पिढीलाई साहित्य चर्चा साथै सकारात्मक ऊर्जा छर्ने उद्देश्यले इकोस्फियरको सेरोफेरोमा सन्डे आर्ट हाट शुरु गरेका छन्।

  आफू मात्रलाई श्रेय लिन नखोज्दै निमेष भन्छन, ‘‘ यो मन र विचार मिल्ने युवा साथी अनि अग्रजहरूलाई लिएर शुरु गरिएको पहल हो।’’ बाइसधुराको ब्रिटिशकालीन युरोपियन मैदानको एक कुनामा रहेको शिरिषको छाँयादार रुखको फेदमुनि पर्यावरण अनुकूल वातावरणमा निमेषले शुरु गरेका छन् सन्डे आर्ट हाट। हाट भन्नाले सामान्यत बजार सोँच्न सक्छन् कसैले तर यो हाटमा राखिएका छन् पुस्तक परिकार। शिरिषको रुखलाई बनाइएको छ सजीव पुस्तकालय- निमेष भन्छन्, ‘‘ मेरो एउटा सपना थियो एउटा सङ्ग्रहालय म्युजियम) खोल्ने र यसको नाम स्वराज राख्ने गहिरो इच्छा थियो। तर अर्थको अभावमा यो गर्न नसकिएकोले साइकलमा मोबाइल लाइब्रेरी गरेर हिँड़ने पनि मन बनाइसकेको थिए। फेरि त्यो अलिक असम्भव देखिएपछि अन्ततः मैदानको एउटा कुनामा रहेको शिरिषको छाँयादार रुखलाई पुस्तकालय बनाएको छु। तिनले भने, ‘‘ स्कूल पढ़ने बेलादेखि नै यस रुखले आकर्षित गरिरहन्थ्योl यसै रुखको फेदमुनि आफ्नै गाउँले दाजुभाईहरू जुवातास खेलेको देख्दा मन अशान्त बन्थ्यो। मनले यसै फेदमा नै अब इकोस्फियर गर्ने ठानेपछि त्यही शिरिषको रुखलाई नै पुस्तकालय गर्ने र सन्डे आर्ट हाटको विचार मौलाएर आयो। आफ्नो सोँचलाई साथी भाईहरू र अग्रजहरुको समर्थन रहँदा यसलाई परिवेश मण्डल अर्थात इकोस्फेयरको सेरोफेरोमा यो सन्डे आर्ट हाट शुरु गरेको बताउँछन्’’- निमेष लामा। शिरिषको रुखलाई नै आफूले स्वराज नाम दिएको छु र यसैको मार्गदर्शनमा अब प्रत्येक आइतबार सन्डे आर्ट हाट लगाउने जहाँ आउने सबैले आ-आफ्नो कला, साहित्य, कविता वाचन गीत प्रस्तुति, नाटक प्रदर्शन ठट्यौली आदिको प्रस्तुति गर्ने बताउँछन् निमेष लामा। स्नातक सकेर हाल सङ्घर्षरत रहेको बेरोजगार युवा निमेष लामा अन्य युवाहरू भन्दा अलिक फरक छन्। समाजले स्वाधीनता ङ्ग्रामीहरूको जन्मदिन र पुण्यतिथि मात्र पालन गर्छन तर तिनीहरूको आदर्शलाई जीवनमा उतार्न खोज्दैनन् यो सोँच्दा विचित्र लागेर आएको बताउँछन् मेष लामा। व्यर्थै बसेर नकारात्मक औ ध्वंशात्मक क्रियाकलापमा बस्न भन्दा बरु परिवेश र मानिसबीचको अन्तरसम्बन्धलाई दह्रो बनाउने र यसै परिवेश मण्डल अर्थात इकोस्फेयरको सेरोफेरोमा यो सन्डे आर्ट हाट मार्फत समाजलाई सकारात्मक सन्देश दिन चाहन्छन् निमेष लामा र उनका टोलीहरू।

निमेषको यो अनुकरणीय पहललाई समाजको हरेक सचेतवर्गले स्याबासी र साधुवाद जनाउन थालेका छन्। स्नातक गरेर बेकार अवस्थामा बसेका हरेक युवावर्गलाई अहिले नकरात्मक शक्तिले गाँजेको अवस्थाबीच पनि निमेषले कतै मन नघुमाई आफ्नै सृजनात्मक सोँचमा यो जुन कामको थालनी गरेको छ यसको शुभकामना दिनेहरूको अहिले ताँत लागेको छ। निमेष जस्तै अझै धेरै युवाहरू अघि आए डुवर्सेली समाज बौद्धिक स्तरमा मौलाएर जाने र यसले साहित्यिक सामाजिक आदि क्षेत्रमा फड़को हान्ने समाजका चिन्तक लेखक कविहरूले जनाएका छन्।

About Author

Advertisement