कालचिनी: दिन प्रतिदिन ३१सी राष्ट्रिय राजमार्ग निमती दोमोहनीमा दुर्घटना हुँदै आईरहेकोबीच आज फेरि अपरान्ह समय बाराबिसाबाट सिलगढ़ीतर्फ आईरहेको एउटा रिजर्भ यात्रीबस निमती दोमोहनीको ढाबामा अनियन्त्रित भएर पस्दा ढाबामा रहेको मानिसहरू भाग्यले बाँचे तापनि एकजना मोटरबाइक सवार साथै बसभित्र रहेको यात्रीहरू घाइते बनेको थियो। घाइतेहरू सबैलाई तत्कालै कालचिनी थाना अन्तर्गत रहेको निमती आउटपोस्टका पुलिसबलले उद्धार गरेर उत्तर लोथाबारी ग्रामीण अस्पतालमा उपचारको निम्ति ल्याएको थियो भने प्राथमिक उपचार पश्चात सबै घाइतेहरूलाई अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको थियो।

घाइतेमध्ये मोटरबाइक सवारको अलिक गम्भीर अवस्था रहेको चिकित्सकहरूले जनाएका छन्। यता निमती आउटपोस्टका प्रभारी एसआई अमित शर्माले सम्भवतः यात्रीबसले मुखामुखी हुन आँटेको अर्को वाहनलाई बचाउने हुँदा बस ढाबातिर पसेको तर ढाबा अघि धेरै वाहनहरू राखिएकोले वाहनहरू क्षतिग्रस्त बनेको बताएको छ। क्षतिग्रस्त वाहनलाई र घाइते सबैलाई उद्धार गरिएको र घटनास्थलमा कसैको ज्यान नगएको पनि पुलिस सुत्रले जनाएका छन्। ज्ञात रहोस, गत ६ जुलाईको राती मात्र निमती दोमोहनी संलग्न ३१सी राष्ट्रिय राजमार्गमा दुईवटा विपरीत दिशाबाट गइरहेको वाहन मुखामुखी सङ्घर्ष हुँदा दुवै वाहनमा भयावह आगो लागेको थियो।










