बीरपाडा: बीरपाडा नेपाली उच्च विद्यालयको प्रेक्षगृहमा आज सामाजिक संस्था हाम्रो समाज तथा चन्द्रवीर प्रधान ग्रामीण जन पुस्तकालयको तत्वावधानमा निःशुल्क करियर काउन्सेलिङ कार्यशाला आयोजन गरे| बीरपाडा अनि वरिपरि क्षेत्रहरूका विद्यार्थीहरूलाई सठिक मार्ग निर्देशन गराउने उद्देश्यले आज उक्त एकदिवसीय कार्यशालाको आयोजन गरेको उक्त संस्थाका सचिव हर्कु तामाङले बताएका छन्| गत हप्ता सामाजिक संस्था हाम्रो समाजका सदस्यहरूले बीरपाडा, दलमोर, रामझोडा, माक्रापाडा,बन्दापानीको शिक्षित व्यक्तिहरूलाई भेटेर करियर काउन्सेलिङ लिएर चर्चा परिचर्चा गरि सबै विद्यार्थीहरूलाई निमन्त्रण दिने अनुरोध गरेका थिए|
आज कार्यशालामा अध्ययनरत सबै विद्यार्थीहरूले भविष्यमा आफ्नो आफ्नो लक्ष्य लिएका भए पनि उक्त लक्ष्यलाई पुरा गर्न के कस्तो तयारी गर्नुपर्ने साथै आउने अड्चनहरूलाई कसरी पार लाउने बारे विस्तृत निर्देशन दिइयो| आज विशेष रूपमा कुचबिहारबाट स्त्रोत व्यक्ति रजतकुमार मिश्रा उपस्थित थिए| तिनले विद्यार्थीहरूलाई आफ्नो अध्ययनसँगसँगै वा अध्ययन पश्चात पनि आफ्नो उज्ज्वल भविष्यको निम्ति कुन मार्ग अप्नाउने? कस्तो प्रकारको तयारी गर्नुपर्ने विषयमा आफ्नो ज्ञान साझा गरे| कार्यक्रमको शुभारम्भमा हाम्रो समाजका सचिव हर्कु तामाङले स्वागत भाषण दिए| क्रमैले बीरपाडा नेपाली उच्च विद्यालयका भारप्राप्त शिक्षक अनुपकुमार शर्माले पनि कार्यक्रममा उपस्थित विद्यार्थीहरूलाई करियर विषयमा वक्तव्य राखे| यसरी डाक्टर बिपुल छेत्री, डाक्टर अमृत लामा, आरओ डोल्मा तामाङ, शिक्षिका दुर्गा गुरुङ आदिले आफ्नो मन्तव्य राखे| आजको यस कार्यक्रमलाई शिक्षक अमीर सुब्बाले सञ्चालन गरेका थिए| उक्त कार्यक्रममा लगभग ३०० विद्यार्थीहरूले भाग लिएका थिए|










