मिरिक: कर्ण- दुर्गा स्मृति प्रतिष्ठान, मगरजोङ चियाबारीको तत्वाधानमा सर्जक शर्मिला प्रधानकृत दुइवटा पुस्तक ‘अनुभूतिको कल्पवृक्ष’ (गजल सङ्ग्रह) एवम् ‘फूलका थुँगा र असिनाको चोट'( मुक्तक सङग्रह) विधिवत् रुपमा लोकार्पण गरिएको छ। उक्त कार्यक्रमको अध्यक्षता वरिष्ठ कवि एंव गीतकार मदन ओझाले गरेका थिए भने प्रमुख अतिथिको रुपमा सभासद एवं जीटीएको चेयरम्यान अञ्जुल चौहान, विशिष्ट अतिथिमा डा. प्राध्यापक देवी नेपाल, मिरिक साहित्य सुनौँका अध्यक्ष राजबहादुर राई, प्रदीप रसाईली, अमर ढुङमालीआदि उपस्थित रहेका थिए। अमीर गुरुङ्ले स्वागत भाषण राखेको कार्यक्रमको पहिलो चरणमा कवि नवीन सुब्बा, कवि दीप प्रधान, कवि कमला तामाङ, कवि दिपेन प्रधानले कविता वाचन गरेका थिए भने दोस्रो चरणमा कवि देविका मंग्राती, कवि शरद् सुब्बा, कवि अजम प्रधान र कवि सीडी वान्तवा, कवि रञ्जित गुरुङ, कवि महेश ओझाले रचना पठन गरेका थिए। कार्यक्रममा नागरी धजे जीटीए आइडलका विजेता अनिवेश मंग्रातीले आफ्नो गीत प्रस्तुत गरेका थिए। यस कार्यक्रममा कर्ण -दुर्गा स्मृति प्रतिष्ठिानले तीनजना स्रष्टा क्रमैले डा. प्रा. देवी नेपाल, डा. सुकराज दियाली अनि प्रदीप रसाईलीलाई सम्मान जनाएका छन्।

कार्यक्रममा सिलगढी, खरसाङ, दार्जिलिङ, मिरिक, पोख्रेबुङ, नागरी धजे तथा मगरजोङ चियाबारी वरिपरिका वरिष्ठ साहित्यकार, साहित्यानुरागी, कवि एवं सचेत व्यक्तित्वको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमलाई कवि एवं समालोचक किसन प्रधानले सञ्चालन गरेका थिए।










