खरसाङ: खरसाङको नयाँ बजार राजबारीस्थित रानीकूप नारी प्रगति संस्थाको आयोजनमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ। पूर्व अध्यक्ष हिरा दर्नालको अध्यक्षतामा कार्यक्रमको शुरूवात संस्थाका दिंवंगत संस्थापक सदस्यहरूको स्मृतिमा १०८ वटा बत्ती बालेर श्रद्धाञ्जली अर्पण गर्दै गरिएको थियो। कार्यक्रमका बिशिष्ट अतिथि संस्थाकी वरिष्ठ संस्थापक सदस्य कुमारी थापा अनि दिव्य ज्योति संघकी उपाध्यक्ष लिलु छेत्रीको उपस्थिति रहेको थियो। कार्यक्रममा उदबोधन नृत्य बबिता सेवाले प्रस्तुत गरेकी थिइन्। शिक्षिका परिनीती ठटालले महिला दिवस किन र कहिलेदेखि मनाउन थालिएको भन्ने विषयमा छौटकरीमा जानकारी गराएकी थिइन्। यस वर्षको महिला दिवसको बिषय वस्तु ‘गिभ टु गेन’ रहेको सन्दर्भमा समाजमा हामीले छोरी अर्थात महिलालाई अवसर प्रदान गरेको खण्डमा समाजले कस्ता उपलब्धिहरू हाँसिल गरेर संशक्त समाजको निर्माण गर्न सक्छ सो बिषयमा विस्तृत जानकारी प्रनिता मुखियाले राखेकी थिइन्। यसका साथै संस्थाका आबद्ध युवतीदेखि लिएर विभिन्न उमेर समूहका सदस्यहरूका निमित्त मनोरञ्जन्तामक खेलहरूको आयोजन गरिएको थियो।सहभागीहरूले उत्साहपूर्वक भाग लिँदै कार्यक्रमलाई थप रमाइलो र उत्साहजनक बनाएको जानकारी प्राप्त भएको छ।

यस कार्यक्रमले सदस्यहरूबीच आपसी एकता सहयोग र सशक्तिकरणको सन्देश फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको आयोजक समितिले जनाएको छ।कार्यक्रमको सञ्चालन सुप्रिना शर्माले गरेकी जानकारी संस्थाका सचिव प्रनिता मुखिया घिसिङले दिएकी छिन्।









