नाम्ची: राज्यको प्रमुख प्रतिपक्षी दल सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ- ले अहिले दक्षिण जिल्लामा आफ्नो गतिविधिलाई तीव्र पारेको छ। विभिन्न सभा र अभियानहरूको माध्यमबाट उसले जनतासँग सम्पर्क गर्ने तथा आफ्नो संगठनलाई मजबुत पार्ने दिशामा सक्रियता देखाएको बुझिएको छ। यस्तैमा आज दक्षिण जिल्लाका आठवटै निर्वाचन क्षेत्रका पार्टी प्रतिनिधिहरूलाई लिएर एउटा महत्त्वपूर्ण सभा सम्पन्न गरेको पार्टी स्रोतले जानकारी दिएको छ। जानकारीका अनुसार एसडीएफ पार्टीको दक्षिण जिल्ला कार्यकारी समितिको तत्त्वावधानमा जिल्लाका ४ वटै निर्वाचन क्षेत्रका सीएलईसी कमिटीका अध्यक्ष तथा प्रभारीहरूको एउटा महत्त्वपूर्ण सभा नाम्चीस्थित घुर्बिसेमा सम्पन्न भएको बताइएको छ।

एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष विनोद राईको अध्यक्षतामा सम्पन्न यस सभामा जिल्लाका सम्पूर्ण युथ कन्भेनर तथा चेली कन्भेनरहरूको पनि उपस्थिति रहेको थियो भने यस अवसरमा सम्पूर्ण सीएलईसी समितिका अध्यक्षहरूले आ-आफ्ना क्षेत्रको विवरण र रिपोर्टिङ प्रस्तुत गरेका थिए। सभाले आउँदो विधानसभा चुनाउलाई केन्द्र गरी रणनीति र विभिन्न कार्यक्रम तय गरेको पनि पार्टी स्रोतले जानकारी दिएको छ। जिल्ला महासचिवसहित सुमन तिवारी, जगन्नाथ घिमिरे, विमल राई, गोकुल राई, डा. शिवकुमार शर्मा, युवा नेता रमेश किराँत, ललित प्रधान, सुमन राई अनि प्रचार प्रसार महासचिव दिलु दाहालले यस अवसरमा आफ्नो वक्तव्य राखेका थिए। यस अवसरमा जिल्लाका सम्पूर्ण नेता-कार्यकर्ताहरूलाई आउँदो चुनाउबारे फोकस गर्न पनि वक्ताहरूले निर्देशन दिएको बताइएको छ।










