नामथाङ: कृषि विभाग, नामथाङ ब्लकद्वारा आज तान्जी बिकमत जीपीयूको पयौंग्राम वार्डमा प्रधानमन्त्री कृषि सिँचाइ योजना (पीएमकेएसवाई) अन्तर्गतको पर ड्रप मोर क्रप (पीडीएमसी) योजनाअनुसार सूक्ष्म सिँचाइ प्रणाली वितरणसम्बन्धी कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रममा ओएसडी डेन्डुप शेर्पा, पशुपालन विभागकी अध्यक्ष डोमा लेप्चा, जिल्ला पञ्चायत सदस्य अनिल शंकर, कृषि विभागका अधिकारीहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुआत एआई छोङमित लेप्चाको स्वागत सम्बोधनबाट भएको थियो भने सहायक कृषि अधिकृत (एडीओ) मीना शर्माले पीएमकेएसवाई–पीडीएमसी योजनाका उद्देश्य र लाभबारे प्रकाश पारिन्।
ओएसडी डेन्डुप शेर्पाले पनि कार्यक्रमलाई सम्बोधन गर्दै सूक्ष्म सिँचाइ प्रणालीले जल संरक्षण, उत्पादन वृद्धि तथा कृषकहरूको आयस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
कृषि विभागका अनुसार यस कार्यक्रममार्फत करिब १०० जना कृषकहरू लाभान्वित भएका छन्।









