कामाख्यागुडी: कोचबिहार जिल्लाको तुफानगञ्ज–२ नम्बर ब्लकअन्तर्गत नाजिरान देउतिखाता क्षेत्रमा डम्परको ठक्करबाट बीएसएफका एक सेवानिवृत्त इन्स्पेक्टरको मृत्यु भएको छ।
प्राप्त जानकारीअनुसार मृतकको नाम बंकिमचन्द्र दास (६०) हो। उनी कुमारग्राम ब्लकअन्तर्गत भोल्का–बारविशा २ नम्बर ग्राम पञ्चायतको पूर्व शालबाडी क्षेत्रका बासिन्दा थिए। उनको मृत्युले गाउँमा शोकको वातावरण सिर्जना भएको छ।
बताइए अनुसार बिहीबार दिउँसो करिब ३१ नम्बर सी राष्ट्रिय राजमार्ग हुँदै मोटरसाइकलमा सवार भई बंकिमचन्द्र दास बारविशातर्फ जाँदै थिए। सोही क्रममा नाजिरान देउतिखाता क्षेत्रमा एक डम्परले उनलाई ठक्कर दिएको थियो।
दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए। स्थानीय बासिन्दाले उनलाई उद्धार गरी कामाख्यागुडी ग्रामीण अस्पताल पुर्याएका थिए, जहाँ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।
बिहीबार मृतदेहलाई पोस्टमार्टमका लागि अलिपुरद्वार जिल्ला अस्पताल पठाइने भएको छ। उता कामाख्यागुडी फाँडीको प्रहरीले जोराई क्याम्प प्रहरीको सहयोगमा दुर्घटनामा संलग्न डम्परलाई नियन्त्रणमा लिएको छ।
बंकिमचन्द्र दास बीएसएफमा इन्स्पेक्टर पदमा कार्यरत थिए र उनले यही वर्ष फेब्रुअरी महिनामा सेवानिवृत्ति लिएका थिए।







