गेजिङ: गेजिङ जिल्लाका नवनियुक्त जिल्लापाल तेन्जिङ दोर्जी डेन्जोङ्गपाले आज राब्देन्सीस्थित जिल्ला प्रशासनिक केन्द्रमा विभागीय प्रमुखहरूको समन्वय बैठक आयोजन गरे।
बैठकको सुभारम्भ देशका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहलाई श्रद्धाञ्जलि अर्पण गरेर भएको थियो।
बैठकमा सम्बन्धित विभागहरूले जिल्लामा कार्यान्वयन गरिएका केन्द्रिय र राज्य प्रायोजित योजनाहरूको स्थितिका बारेमा जानकारी गराए। यस अतिरिक्त, मुख्यालयका एडीसीले जिल्लामा जारी विभिन्न कार्यहरूमाथि जानकारी गराएका थिए।
जिल्लापालले सबै सहभागीलाई स्वागत गर्दै विभिन्न क्षेत्रहरूमा सेवा गरेका आफ्ना व्यापक अनुभवबाट बिचार साझा गरे। टिमवर्कको महत्त्वलाई जोड दिँदै उनले छिटो, प्रभावकारी र परिणाममुखी सुशासन सुनिश्चित गर्न अधिकारीहरूलाई निकट समन्वयमा काम गर्न आग्रह गरे। उनले पारदर्शिता र जवाफदेहिताको महत्वका बारेमा जोड दिए।
कुशल सार्वजनिक सेवा प्रवाहको आवश्यकतालाई उजागर गर्दै जिल्लापालले कार्यप्रवाह निरन्तरता कायम राख्न कार्यालय प्रमुखहरूको अनुपस्थितिमा अन्य अधिकारीहरूको सक्रिय संलग्नताको लागि आह्वान गरे। उनले डीएसी जाने सडक मार्गमा साइनबोर्ड लगाउन सुझाव दिए।
बैठकमा मुख्यमन्त्रीको आगामी ४ जनवरीमा हुने गाङ्ग्याप भ्रमणको तयारीका बारेमा पनि छलफल गरिएको थियाे। जिल्लापालले विभिन्न योजना र पहलको प्रगतिको बारेमा विस्तृत पावरपोइन्ट प्रस्तुतीकरण तयार गर्न सम्बन्धित विभागलाई निर्देशन दिए।
उनले नशा मुक्त भारत अभियान, निक्षय मित्र र लागुऔषध विरोधी कार्यक्रमहरू जस्ता योजनाहरूको महत्त्वलाई जोड दिॅंदै अधिकारीहरूलाई यी कार्यहरूलाई उच्च प्राथमिकता दिन आग्रह गरे। उनले अधिकारीहरूलाई निक्षय मित्र कार्य अन्तर्गत क्षयरोगका बिरामीहरूलाई सहयोग गर्न मासिक एक हजार रूपियॉं योगदान गर्न समेत प्रोत्साहित गरे।









