नवद्विप गौडिय मठमा दोलयात्रा तथा श्री चैतन्य महाप्रभुको आविर्भाव महोत्सव

IMG-20260303-WA0004

बेबी चक्रवर्ती

फाल्गुनको अन्तिम प्रहरमा जब बंगालको आकाश रङ्गहरूको उल्लासले भरिन्छ, तब गंगातटस्थित नवद्वीप एक अद्वितीय आध्यात्मिक वातावरणमा जागृत हुन्छ। अवसर थियो गौडीय मठमा आयोजित दोलयात्रा तथा श्रीचैतन्य महाप्रभुको आविर्भाव महोत्सवको।
सन् १४८६ मा यही फाल्गुन पूर्णिमाको साँझ नवद्वीपमै श्रीचैतन्य महाप्रभुको आविर्भाव भएको थियो। उहाँको जन्मसमयमा चन्द्रग्रहण लागेको थियो र गंगाका घाटहरूमा असंख्य मानिस हरिनाम संकीर्तनमा लीन थिए। त्यही नामध्वनिको बीचमा उहाँको प्राकट्य भयो, जसले पछि उहाँको जीवनदर्शनको केन्द्रबिन्दु ग्रहण गर्‍यो।


दोलयात्राको अवसरमा एक दिन अघिदेखि नै मङ्गलआरतीको सुरुआत हुन्छ। शंखध्वनि, घण्टानाद तथा कीर्तनका मधुर स्वरहरूले मन्दिर परिसर गुन्जायमान हुन्छ। फूल, आलोकसज्जा र वैष्णव पताकाले सम्पूर्ण आश्रम सजाइन्छ। भक्तजनहरू सेता वा गेरुवा वस्त्र धारण गरी, निधारमा तिलक लगाई र हातमा माला लिएर नामजपमा सहभागी हुन्छन्।
नदिया जिल्लामात्र होइन, राज्यका विभिन्न स्थानहरू तथा देश-विदेशबाट पनि धेरै श्रद्धालुहरू यस उत्सवमा सहभागी हुन्छन्।
यस अवसरमा पाँच दिन अघिदेखि नै धाम परिक्रमा सुरु हुन्छ। महा संकीर्तनसहित साधु-सन्त तथा भक्तजनहरू नगर परिक्रमामा भाग लिन्छन्। कीर्तनका स्वर, पताका र फूलमालाले सुसज्जित त्यो शोभायात्रा नवद्वीपका गल्लीहरू पार गर्दै अगाडि बढ्छ।
गौडीय मिशनका आचार्य तथा अध्यक्ष भक्ति सुन्दर सन्न्यासी महाराजले बताउनुभयो कि आजदेखि ५४० वर्षअघि चन्द्रग्रहणकै दिन महाप्रभुको आविर्भाव भएको थियो। यस वर्ष पनि सोही अवसरमा ५४० वटा दीप प्रज्वलन तथा विशेष प्रार्थनाको आयोजना गरिएको छ। रातो-सेतो वस्त्रधारी महिलाहरूले शंखध्वनि र उलुध्वनिद्वारा वातावरणलाई भक्तिमय बनाउँछन्। “हरिबोल” को जयघोषले सम्पूर्ण क्षेत्र गुन्जायमान हुन्छ।


उहाँले थप भन्नुभयो, वर्तमान विश्वमा जब विभाजन, हिंसा र असहिष्णुता बढिरहेको छ, तब श्रीचैतन्यको प्रेम र एकताको सन्देश विशेष महत्व बोकेको छ।

About Author

Advertisement