नयाँ सरकार आएपछि कुनै पार्टी नछुटाई काम गरिरहेको छः टीटी भोटिया

rabong_863

नाम्चीः नाम्ची जिल्ला अन्तर्गत राभाङलाको समुदायिक भवनमा राबोङ बर्फुङ ग्राम पञ्चायत एकाईको तत्त्वावधानमा वार्डस्तरीय सभा सम्पन्न भयो। सभामा एसकेएम पार्टीका वरिष्ठ उपाध्यक्ष भोजराज राई मुख्य अतिथि रहेका थिए। गत १५ जुनदेखि शुरु गरेको वार्ड सभा आज राबोङ बर्फुङ ग्राम पञ्चायत एकाईमा समापन भएको छ। सभामा क्षेत्र विधायक टीटी भोटियाले सम्बोधन गर्दै नयाँ सरकार आएपछि कुनै पार्टी नछुटाई ठेका-बिगाको काम एक हजार जनालाई दिइसकेको जानकारी दिए। सरकारी सहुलियत दुईपटक वितरण गरिसकेको र क्षेत्रमा धेरैले सहुलियत पाइसकेको पनि थप जानकारी दिए। भोटियाले राबोङ बर्फुङ ग्राम पञ्चायत एकाई पहिला एउटा वार्ड थियो भने अहिले वर्तमान सरकारले सीमांकन गरि जीपीयू बनाइदिएको र जीपीयू भएपछि धेरै जनताले लाभ उठाउने अवसर पाएको बताए।

मुख्य अतिथि राईले आफ्नो सम्बोधनमा पार्टीका कार्यकर्ताहरूले नेता बोकेर नहिडिदिने र कार्यकर्ताहरूले मन सफा राखेर जनताको सेवा गरिदिने सुझाउ राखेका थिए। उनले नयाँ जीपीयू भएकोमा राबोङ बर्फुङ ग्राम पञ्चायत एकाईका जनतालाई बधाई अनि शुभकामना व्यक्त गर्दै नयाँ जीपीयू बनिनुमा सबैभन्दा ठूलो सहुलियत रहेको पनि बताए। सभामा एसकेएम पार्टीको केन्द्रिय कार्यकारिणी समितिका उपाध्यक्ष लोब्जाङ भोटिया, जिल्ला पञ्चायत सदस्य जसोदा छेत्री, पञ्चायत सदस्य कर्मा पिन्चो भोटिया, सीएलसी अध्यक्ष (एसकेएम) प्रकाश गुरूङ आदिले सम्बोधन गरेका थिए।

सभामा पञ्चायत सभापति रुपमाया राई, पञ्चायत उपा-सभापति सरिता ठटाल, पञ्चायत सदस्यगण, राज्य युवा संयोजक सोनाम पिन्चो भोटिया, जिल्ला कार्यकारिणी समितिका अध्यक्ष टेनी डोमा भोटिया, नाम्ची जिल्ला युवा संयोजक बसन्त योन्जन, एसकेएम पार्टीका विभिन्न स्तरका कार्यकर्तागण, विभागका कर्मचारीगण लगायत स्थानीय गाउँलेहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement