नयाँ कमान एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेश

IMG-20260123-WA0092

तीनधारे: नयाँ कमान एफसी घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा गत ३ जनवरीदेखि भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत शुक्रवार पहिलो सेमी फाइनल म्याच सम्पन्न भएको छ। उक्त म्याच नयाँ कमान एफसी र चाँद एफसीमाझ सम्पन्न भएको छ। यस पहिलो सेमी फाइनल म्याचको पहिलो हाफको शुरुमा नै नयाँ कमान एफसीको तर्फबाट जर्सी नम्बर ६ बीरेन प्रधानले गोल गरेर बढत बनाएका थिए। त्यसको लगत्तै फेरि पनि नयाँ कमान एफसीको तर्फबाट नै जर्सी नम्बर ६ बीरेन प्रधानले नै थप गोल गरेर म्याच २-० को बढत बनाएका थिए। पहिलो हाफको खेल २-० को अन्तरमा समाप्त भएको थियो। दोस्रो हाफको म्याचमा दुवै टिमले गोल गर्ने निरन्तर प्रयास गरे पनि गोल हुन सकेन। चाँद एफसीको तर्फबाट दोस्रो हाफको खेलमा टाडाबाट हिर्काएको बल पोसमा लागेर फर्किएको थियो भने नयाँ कमान एफसीको तर्फबाट जर्सी नम्बर ६ बीरेन प्रधानले हिर्काएको बल पोसमा लागेर भूईंमा ठोक्किएर फर्किएको थियो। दोस्रो हाफको निर्धारित समयमा नयाँ कमान एफसीले २-० को अन्तरले म्याच जितेर घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा पुग्ने पहिलो टिम बनेको छ। यस म्याचमा नयाँ कमान एफसीको जर्सी नम्बर ६ बीरेन प्रधानलाई म्यान अफ् द म्याच घोषित गरिएको छ। अब शनिवार दोस्रो सेमी फाइनल म्याच मिक्स अप बोइज खरसाङ र रोयल एफसीमाझ सम्पन्न हुने भएको छ। यस नगदराशि फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १ फरवरीको दिन सम्पन्न हुने भएको छ। यस खेलमा मुख्य अतिथिको रुपमा प्रेमुस भोटिया उपस्थित रहेका थिए भने अतिथिको रुपमा नारायण थापा, नरेन्द्र राई, उमेश प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। यस खेल विषयमा पत्रकारहरूसँग कुराकानी गर्दै घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको सचिव शंकु खवासले विस्तृत रुपमा जानकारी गराएका छन्। उनले बताए अनुसार घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा यसपाली दोस्रो संस्करणको‌ नगदराशि फुटबल टुर्नामेन्ट भईरहेको छ।

यस टुर्नामेन्टमा जम्मा १६ वटा टिमहरुले‌ सहभागिता जनाएका छन् अनि यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १ फरवरीको दिन हुने भएको छ। यस नगदराशि फुटबल टुर्नामेन्टको विजेतालाई आकर्षक ट्रफिको साथमा डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ।

About Author

Advertisement