खरसाङ: सिलिम हिल चियाबारीको लोवर डिभिजनमा रहेको नयाँ कमानको समस्या समाधान भएपछि धरणामा रहेका श्रमिकहरू र जोइन्ट फोरमका नेतृत्वहरूले जीटीए प्रशासनप्रति धन्यवाद दिन्दै यो श्रमिकहरूका जीत भएको र आन्दोलन सफल भएको बताएका छन्। प्रबन्धक पक्षले चियाको गाछहरू उखेल्ने निर्देश दिएपछि विगत १९ मईदेखि सुरु भएको धरणा प्रदर्शन दश दिनपछि आज आएर समाप्त भएको छ। उक्त धरणामा बसेका श्रमिकहरूलाई भेट्न जीटीए चिफ् अनित थापा आएपछि श्रमिकहरू, प्रबन्धक पक्ष र युनियनमाझ सहमति बनेपछि धरणा प्रदर्शन समाप्त भएको छ भने भोलि ३० मईदेखि नयाँ कमान सुचारू रूपले चल्ने र चिया गाछहरू पनि नकाट्ने भएको छ। धरणाको दशौं दिन समस्या समाधान भएपछि नयाँ कमानको सबै श्रमिकहरूले जीटीए चिफ् अनित थापा, सबै पार्टीको नेतृत्वहरू, जोइन्ट फोरमको पदाधिकारीहरू र मीडियाहरू सबैप्रति आभार प्रकट गरेका छन्। आज जीटीएको प्रमुख कार्यपाल अनित थापा आएर समस्या समाधान भएको छ अनि प्रबन्धक पक्षले चियाको गाछहरू पनि नखेल्ने भनेका छन् भन्दै अब भविष्यमा फेरि प्रबन्धक पक्षले चियाको गाछहरू उखेल्न लगाए हामी रुन: आन्दोलनमा जानेछौं भनी श्रमिकहरूले बताएका छन्। श्रमिकहरूले आफ्नो आन्दोलन सफल भएकोमा खुशी व्यक्त गरेका छन्। यसै अवसरमा जोइन्ट फोरमको पक्षबाट सिटुको सचिव एंव पूर्व सांसद समन पाठक, सीपीआईएमको नेता सचिन खाती, गोरामुमो खरसाङ ब्राञ्च कमिटीको अध्यक्ष निमा लामा, गोरामुमोको ट्रेड युनियन एचपीडब्ल्युयुको खरसाङ महकुमा समितिको सचिव बीरेन्द्र छेत्री, बीके थापा लगायत अन्यहरू उपस्थित रहेका थिए। यस अवसरमा पत्रकारहरूसित कुराकानी गर्दै जोइन्ट फोरमको पक्षबाट सिटुको सचिव एंव पूर्व सांसद समन पाठकले यो श्रमिकहरूका आन्दोलनको जीत भएको र सफल आन्दोलनको लागि श्रमिकहरूलाई बधाई दिएका छन्। उनले जोइन्ट फोरमले नयाँ कमानको समस्या समाधानको लागि हामीले पत्रचार गर्दै तीन दिनको अल्टीमेटम दिएको र यसावधि नै जीटीएको चिफ् अनित थापा आएर समस्या समाधान गरिदिएकोमा पनि आभार प्रकट गरेका छन्। उनले भविष्यमा पनि फेरि चिया गाछहरू उखेल्ने निर्देश आए यहाँको श्रमिकहरूसितै हामी पुन: आन्दोलनमा उत्रने बताएका छन्। समन पाठकले भने, यहाँको श्रमिकहरूले गरेका आन्दोलन सफल भएको छ र भविष्यमा पनि यसरी सबै श्रमिकहरूलाई एकतामा रहने आह्वान् गरेका छन्।








