३१ अगस्तः स्पेनिश स्टार रफायल नडालले जीतको साथ यूएस ओपन टेनिस च्याम्पियनशीपको दोस्रो राउण्डमा स्थान बनाए पनि महिला एकलमा चाहिँ भीनस विलियम्स, वर्तमान च्याम्पियन एम्मा राडुकानु र पूर्व च्याम्पियन नाओमी ओसाका पहिलो राउण्डमै बाहिर भइन्। विश्वका पूर्व नम्बर एक खेलाड़ी नडालले अष्ट्रेलियाका रिंकी हिजिकातालाई पराजित गरी दोस्रो राउण्डमा स्थान बनाए। अनुभवी नडालले यस म्याचमा २१ वर्षीय खेलाड़ीलाई ४-६, ६-२, ६-३, ६-३-ले पराजित गरे। रिंकीलाई वाइल्ड कार्डको माध्यमले टुर्नामेण्टमा प्रवेश प्राप्त भएको थियो। यसरी नडाल २०१९ पछि न्यूयोर्कमा पहिलोपल्ट म्याच जित्न सफल भए।

यसबाहेक नडालको यस साल ग्राण्ड स्ल्याममा यो २०औं जीत हो। उनले यस साल ग्राण्ड स्ल्याममा आफ्नो जम्मै म्याच जितेका छन्। दोस्रो राउण्डमा नडालको भिड़न्त इटलीका फेबियो फोगनिनीसँग हुनेछ। नडालकै देशका युवा खेलाड़ी कार्लोस अल्कराज पनि दोस्रो राउण्डमा पुग्न सफल भए। अल्कारेज विरुद्ध अर्जेण्टिनाका सेबेस्टियन बाएजले पूरा म्याच खेल्न सकेनन् अनि बीचमै रिटार्ड आउट भए।

यसरी अल्कारेजले सजिलै दोस्रो राउण्डमा स्थान बनाए। चोटले गर्दा बाएजले म्याच छोड़्दासम्म अल्कारेज ७-५, ७-५, २-०-ले अघि रहेका थिए। दोस्रो राउण्डमा अल्कारेजको सामना फेडरिको कोरिआसँग हुनेछ। पुरुष एकलमा २०१४-का च्याम्पियन मारिन सिलिच, क्यामरन नोरी, ह्युबर्ट हर्काज, आन्द्रे रुबलेव, यानिक सिनर र ग्रिगोर दिमित्रोव पनि पहिलो राउण्डको म्याच जित्न सफल रहे।

यसबीच महिला एकलमा चाहिँ उलटफेरको क्रम जारी रह्यो। यस साल जूनमा आफ्नो ४२औं जन्मदिन मनाउने भीनसलाई अर्थर ऐस स्टेडियममा आफ्नी बहिनी सेरेना जस्तो दर्शकहरूका समर्थन प्राप्त भएन अऩि सातपल्टका ग्राण्ड स्ल्याम विजेता सीधा सेटमा पराजित भइन्। भीनसलाई एलिसन भ्यान उयतवांकले ६-१, ७-६ (५)-ले पराजित गरिन्। महिला एकलमा उयतवांकले अब क्लारा ब्यूरेलकी चुनौती स्वीकार्नेछिन्। उनले विम्बल्डन च्याम्पियन एलेना रयबाकिनालाई ६-४, ६-४-ले पराजित गरिन्। सेरेनाले जहाँ खेलबाट सन्न्यास लिने संकेत दिइसकेकी छन्, त्यहीँ भीनस चाहिँ खेलबाट बिदा लिने मिजासमा छैनन्। भीनस २०२० भन्दा अघि यूएस ओपनमा कहिले पनि पहिलो राउण्डमा बाहिर भएकी थिइनन्।

गत वर्ष उनले प्रतियोगितामा हिस्सा लिइनन्। यसबीच ब्रिटेनकी युवा खेलाड़ी राडुकानु पहिलो राउण्डमा हार्ने केवल तेस्रो यूएस ओपन च्याम्पियन बनिन्। उनले एलिजे कोर्नेटले ६-३, ६-३-ले पराजित गरिन्। राडुकानुले गत वर्ष क्वालीफायरको रूपमा यूएस ओपनमा हिस्सा लिएर ट्रफी जितेर सबैलाई चकित पारेकी थिइन्।

यूएस ओपनमा दुईपल्टकी च्याम्पियन जापानकी नाओमी ओसाका पनि पहिलो राउण्डमै हारिन्। उनलाई अष्ट्रेलियन ओपनमा उपविजेता रहने डेनियल कोलिन्सले अबेर राति समाप्त भएको म्याचमा ७-६ (५), ६-३-ले पराजित गरिन्। विश्वकी पूर्व नम्बर एक खेलाड़ी ओसाका यस साल फ्रेञ्च ओपनमा पहिलो पहिलो राउण्डमै हारेकी थिइन्। यसैकारण उनी ऱ्यांकिंगमा झरेर ४४औं स्थानमा पुगेकी थिइन्। कोलिन्स विरुद्ध यस म्याच अघिसम्म उनको रेकर्ड ३-०-को थियो तर यसपाली १९ वर्षीय खेलाड़ी अघि उनको कुनै शीप चलेन। महिला एकलमा २०१७-की च्याम्पियन स्लोएन स्टीफेन्स, नम्बर एक खेलाड़ी इगा स्वियातेक, आर्यना सबालेंका, नम्बर आठ जेसिका पेगुला, गार्बिने मुगुरुजा, बेलिण्डा बेनसिच र क्यारोलिना प्लिसकोवा पनि अघि बढ़न सफल भइन्।










