जलपाईगढी: जलपाईगढीको नगरकट्टा ब्लकको दक्षिण खेरकाटा गाउँमा आफ्नो घर अगाडि हिँडिरहेकी १२ वर्षीया बालिकालाई चितुवाले आक्रमण गरी नजिकैको जङ्गलमा तानेर लग्यो। पाँच कक्षामा अध्ययनरत सुशीला गोआला नगरकाटा ब्लकको दक्षिण खेरकाटा गाउँकी बासिन्दा हुन्। घटना हिजो साँझ ६ बजेतिर भएको हो। चितुवाले बालिकालाई लागेपछि उनको परिवारका सदस्यले सहयोगको लागि चिच्याएपछि छिमेकीले चितुवालाई भगाए। सबै मिलेर चितुवालाई तर्साउन पटेका पड्काउँदा चितुवाले बालिकालाई छाडेर जंगलमा भाग्यो। तर, त्यतिन्जेल चितुवाको आक्रमणबाट उनको मृत्यु भइसकेको थियो। खबर पाएलगत्तै खुनिया रेन्ज र डायना रेन्जका वनकर्मी घटनास्थल पुगे। आक्रोशित गाउँलेहरूले वनकर्मीलाई घेरा हालेर केही बेर बाहिर जान दिएनन्। वन अधिकारीहरूले पीडित परिवारलाई क्षतिपूर्ति र अन्य सहयोगको आश्वासन दिए। गोरुमारा वन्यजन्तु डिभिजनका अतिरिक्त डिभिजनल वन अधिकृत राजीव देले भने, “घटना दुर्भाग्यपूर्ण थियो। परिवारलाई नियमानुसार क्षतिपूर्ति दिइनेछ। हामीले गाउँलेहरूलाई सतर्क रहन आग्रह गरेका छौं।” शनिबार जलपाईगढी जिल्लाको मटियाली ब्लकको चिलौनी चिया बगानमा चितुवाको बच्चा देखियो। वन कर्मचारीले बच्चाको उद्धार गरे र आमा नजिकै हुनसक्ने भएकाले कर्मचारीलाई सतर्क रहन आग्रह गरे।









