सुब्रती सङ्घको आयोजनामा भव्य दुर्गापूजा सुरु
नक्सालवारी: नक्सालवारी क्षेत्रको घटाने मोरमा नक्सालवारी सुब्रती सङ्घको आयोजनामा दुर्गाउत्सवको भव्य उद्घाटन सम्पन्न भएको छ। दार्जिलिङका सांसद तथा भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजु बिष्टले प्रमुख अतिथिका रूपमा उपस्थित भई पूजा पण्डालको विधिवत उद्घाटन गरे।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि दार्जिलिङका संसद् राजु बिष्टले दुर्गापूजा हाम्रो आस्था, संस्कृति र सामूहिक भावनाको महान पर्व भएको बताए। उनले निर्माण गरिएको आकर्षक पूजा पण्डाल, परम्परागत सङ्गीत, कला र स्थानीय बासिन्दाको आत्मीयताले नक्सालवारी लगायत समग्र क्षेत्रको सुन्दरतालाई अझ बढाएको उल्लेख गरे।

कार्यक्रममा बोल्दै सांसद बिष्टले माता दुर्गाको असीम कृपाले नक्सालवारी तथा सम्पूर्ण क्षेत्रका हरेक घरपरिवारमा सुख, शान्ति र समृद्धिको बास होस् भन्ने कामना गरे। यस्तै उत्कृष्ट एवं भव्य दुर्गापूजा सफल रूपमा आयोजना गरेकोमा नक्सालवारी सुब्रती सङ्घका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरियो।





