नक्सलबारी: नक्सलबारी प्रहरीले डकैतीको योजना बनाएको आरोपमा थप दुई जनालाई नियन्त्रणमा लिएको छ। यससँगै यस घटनामा गिरफ्तार हुनेहरूको कुल सङ्ख्या ५ पुगेको छ।
प्रहरी स्रोतका अनुसार, गत बिहीबार राति नियमित गस्तीका क्रममा निखिल स्मृति मैदानको एक एकान्त क्षेत्रमा शङ्कास्पद व्यक्तिहरूको आवतजावत देखिएपछि प्रहरीले कारबाही चलाएको थियो। प्रारम्भिक कारबाहीमा प्रिन्स राज, मोहम्मद सामशेर र किशोर बासफोरलाई नियन्त्रणमा लिइएको थियो। सोधपुछका क्रममा उनीहरूले डकैतीको योजना बनाएको स्वीकार गरेपछि गिरफ्तार गरिएको थियो।
उनीहरूकै बयानका आधारमा प्रहरीले मङ्गलबार राति थप दुई जना तपस विश्वास र रञ्जन घोषलाई पक्राउ गरेको हो। दुवै आरोपीलाई बुधबार सिलिगुडी उप-विभागीय अदालतमा पेश गरिएको छ।





