नक्सलबाडीको शारदा विद्या मन्दिर पुगे राज्यपाल आर.एन. रवि

FB_IMG_1795521426850

विद्यार्थीसँग नैतिक शिक्षा र भविष्यबारे संवाद

​सिलगढी। पश्चिम बंगालका राज्यपाल आर.एन. रविले मङ्गलबार नक्सलबाडीस्थित शारदा विद्या मन्दिर हाई स्कुलको भ्रमण गर्दै विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरेका छन्। सो अवसरमा दार्जिलिङका सांसद राजु बिष्टले राज्यपाल रविको
स्वागत गरेका थिए।
​कार्यक्रममा राज्यपाल रविले विद्यार्थीहरूसँग आफ्ना स्कुले जीवनका अनुभव तथा त्यसबेला भोगेका चुनौतीहरूबारे खुलेर चर्चा गरे। उनले विद्यार्थीहरूलाई लगनशील भएर अध्ययन गर्न र जीवनमा सफलता हासिल गर्न निरन्तर मिहिनेत गर्न सुझाव दिए।
​सम्बोधनका क्रममा राज्यपाल रविले शिक्षा केवल किताबी ज्ञान र शैक्षिक उत्कृष्टतामा मात्र सीमित हुन नहुने बताए। शिक्षामा नैतिक मूल्य, करुणा, देशभक्ति र समाजप्रतिको उत्तरदायित्वको भावना पनि अनिवार्य रूपमा जोडिनुपर्ने उनको भनाइ थियो। आज नक्सलबाडी क्षेत्र शैक्षिक अवसर, वाणिज्य, व्यापार र सामाजिक प्रगतिको केन्द्रका रूपमा तीव्र गतिमा विकास भइरहेको उल्लेख गर्दै उनले सामाजिक तथा आर्थिक पृष्ठभूमिभन्दा माथि उठेर बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न शारदा विद्या मन्दिरजस्ता शैक्षिक संस्थाले खेलेको भूमिकाको प्रशंसा गरे।
​कार्यक्रममा उपस्थित सांसद राजु बिष्टले नक्सलबाडीको ऐतिहासिक पृष्ठभूमिको स्मरण गर्दै यस क्षेत्रका युवा पुस्तालाई शिक्षा, अनुशासन, नैतिक मूल्य र रचनात्मक राष्ट्र निर्माणको मार्गमा डोर्‍याउन शारदा विद्या मन्दिरजस्ता संस्थाहरू निरन्तर सक्रिय रहनु प्रेरणादायी विषय भएको बताए।
​सांसद बिष्टले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘विकसित भारत २०४७’ को सङ्कल्प तथा मुख्यमन्त्री शुभेंदु अधिकारीको नेतृत्वमा दार्जिलिंग पहाड, तराई, डुअर्स र उत्तर बङ्गालका युवाहरूलाई गुणस्तरीय शिक्षा र समान अवसरमार्फत सशक्त बनाउनु सामूहिक प्राथमिकता रहेको स्पष्ट पारे। उनले विद्यार्थीहरूलाई ठुला सपना देख्न, अनुशासित रहन र आफ्नो लक्ष्य प्राप्तिका लागि कडा परिश्रम गर्न समेत प्रोत्साहित गरे।
​कार्यक्रमको अन्त्यमा सांसद बिष्टले विद्यालय व्यवस्थापन, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई बधाई दिँदै प्रेरणादायी भ्रमणका लागि राज्यपाल रविप्रति आभार व्यक्त गरेका थिए।

About Author

Advertisement