नयाँ दिल्लीः भारतीय कुश्ती महासंघका अध्यक्ष बृजभूषण शरण सिंहको विरोधमा धरनामा बसेका पहलवानहरूको आज १२औं दिन हो। संघका अध्यक्षको पक्राउ र राजीनामाको मागमा अडिग पहलवानहरूले अब मेडल फिर्ता दिने कुरा गरिरहेका छन्।धरनामा सामेल महिला पहलवान विनेश फोगाटले बिहीवार भनिन्, उनीहरू सबैले आ-आफ्नो मेडल फिर्ता दिनेछन्। उनीहरूको करियर दाउमा छ। अर्की पहलवान बंजरंग पुनियाले भनिन्, यस मामिलामा सम्बन्धित व्यक्तिलाई पक्राउ गरियो भने हामी सबै यहाँबाट जानेछौं।
यता पहलवानहरूसित भएको दुर्व्यवहारको सम्बन्धमा मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट गरी भने- “देशका च्याम्पियन खेलाड़ीहरूसित यस्तो गलत व्यवहार किन..? यो अत्यन्तै दुःखदायी र लज्जास्पद छ। अहंकारले गर्दा भाजपाको मस्तिष्क बिग्रिएको छ। यिनीहरू गुण्डागर्दीबाट सम्पूर्ण सिस्टम-लाई हाँक्न चाहन्छन्। यिनीहरूले सम्पूर्ण सिस्टमलाई खेलाइँची बनाइदिका छन्। देशका सबै मानिसहरूसित मेरो अपील छ, अब भयो—एकदमै धेर भयो— अब भाजपाको गुण्डागर्दीलाई सहन नगरौं। भाजपालाई निर्मूल पार्नको साथै यिनीहरूलाई भगाउने समय पनि आएको छ।” यसबीच पुलिसले दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालीवाललाई सिभिल लाइन थानाबाट बिहान रिहा गऱ्यो। रिहा हुनसाथ उनी पुनः पहलवानहरूसित भेट गर्न जन्तर-मन्तर पुगिन्। स्वातिको आरोप छ, दिल्ली पुलिस पूर्णरूपले गुण्डागर्दीमा उत्रिएको छ।









