धरणाको दशौं दिन जीटीए चिफ् अनित थापाको पहलमा सिलिम हिल चियाबारीको समस्या समाधान

IMG-20230529-WA0291.jpg

मंगलबारदेखि बगान सुचारु हुने

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीमा पर्ने सिलिम हिल चियाबारीको लोवर डिभिजन नयाँ कमानमा विगत १९ मईदेखि चलिरहेको समस्या आज जीटीए चिफ् अनित थापा पुगेपछि समाधान भएको छ। जीटीए चिफ् अनित थापा नयाँ कमान पुग्दा धरणामा बसेका चियाबारी श्रमिकहरूले विभिन्न प्रश्वहरू गरेका थिए भने जीटीए चिफ् अनित थापाले पनि सबै श्रमिकहरूका विभिन्न प्रश्नहरूको उत्तर पनि दिएका थिए। सिलिम हिल चियाबारीको लोवर डिभिजन नयाँ कमानमा प्रबन्धक पक्षले चियाको गाछहरू उखेल्ने निर्देश दिएपछि विगत १९ मईदेखि लगातार रूपमा श्रमिकहरूले गर्दै आएको धरणा प्रदर्शन आज समाप्त भएको छ। उक्त समस्याको समाधान भएपछि भोलि दिनाङ्क ३० मईदेखि बगान सुचारु हुने अनि श्रमिकहरू पुन: काममा जाने भएको छ। नयाँ कमानको समस्या लिएर आज बिहान जीटीए चिफ् एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा नयाँ कमान पुगेका थिए। उनले नयाँ कमानमा धरणामा बसेका श्रमिकहरूसित बातचीत गरेका थिए भने सिलिम हिल चियाबारीको प्रबन्धक साथै मालिकसित पनि बातचीत गरेर समस्याको समाधान निकालेका छन्। नयाँ कमानमा अनित थापाको विशेष उपस्थितिमा धरणामा बसेका श्रमिकहरू, प्रबन्धक र युनियनमाझ एक सम्झौता भएपछि बगान सुचारु गरिने निर्णय गरिएको छ। उक्त सम्झौतामा जीटीए चिफ् अनित थापा, सिलिम हिल चियाबारीको प्रबन्धक एसएस मल्लिक, श्रमिकहरू र हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको पदाधिकारीहरूले हस्ताक्षर गरेका थिए। उक्त सम्झौता अनुसार नयाँ कमान चियाबारीमा अब कुनै पनि चियाको गाछहरू नउखेल्ने भएको छ र भोलि ३० मईदेखि श्रमिकहरू काममा जाने भएको छ। यसको साथै विगत १९ मईदेखि लगातार रूपमा धरणा प्रदर्शन गरिरहेका श्रमिकहरूलाई १९ देखि २९ मईसम्मको हाजिरा प्रदान गर्नलाई जीटीए चिफ् अनित थापाले सिलिम हिल चियाबारीको मालिकसित फोनमार्फत् बातचीत गरी समाधान निकालेका छन्। अनित थापाले फोनमा बातचीत गरेपछि मालिक पक्षले पनि धरणामा बसेका श्रमिकहरूका १९ मईदेखि २९ मईसम्मको हाजिरा प्रदान गर्न राजी भएका छन्। अन्ततः विगत नौ दिनदेखि धरणामा बसेका श्रमिकहरू दशौं दिनपछि काममा जान राजी भएका छन्। आज बिहान जीटीए चिफ् अनित थापासितै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, भागोप्रमो खरसाङ महकुमा समितिको उपाध्यक्ष प्रेम प्रधान, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, उपाध्यक्ष धिरेन प्रधान, कुसाङ लामा, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, सचिव भक्तिमान तामाङ लगायत अन्य पदाधिकारीहरू उपस्थित रहेका थिए भने सिलिम हिल चियाबारीको प्रबन्धक एसएस मल्लिक पनि उपस्थित रहेका थिए। सोमबार जीटीए चिफ् अनित थापाको उपस्थितिमा प्रबन्धक पक्षले अबदेखि नयाँ कमानमा चिया गाछहरू नउखेल्ने कुरामा सहमति भएको छ भने धरणामा बसेका श्रमिकहरूको हाजिरा पनि दिन राजी भएका छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले सिलिम हिल चियाबारीको लोवर डिभिजनमा रहेको नयाँ कमानको 8 नम्बर डिभिजनमा प्रबन्धकले चिया गाछहरू उखेल्नु निर्देशन दिएपछि यसको विरोधमा श्रमिकहरू धरणामा बसेका थिए भने यसावधि धेरै राजनैतिक पार्टीका प्रतिनिधिहरू आए पनि समाधान निस्केको थिएन। तर गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापा आज नयाँ कमान आएर श्रमिकहरूसित बातचीत गरेर समाधान निकालेका छन् भनी बताए। सचिव भक्तिमान तामाङले भने, ‘आज जीटीए चिफ् अनित थापा नयाँ कमान आएर नयाँ कमानको समस्या विषयमा हस्तक्षेप गरेपछि समाधान निस्केको छ। त्यसर्थ, यहाँको श्रमिकहरू अब मंगलबारदेखि काममा जान राजी भएका छन् भने नयाँ कमानमा अब कुनै पनि चियाको गाछहरू उखेल्ने कार्य हुने छैन भनी प्रबन्धक पक्ष राजी भएका छन्। त्यसरी नै जीटीए चिफ् अनित थापाले बातचीत गरेपछि मालिक पक्षले श्रमिकहरूको धरणाको समयको हाजिरा पनि दिन राजी भएका छन्।’

यसरी जीटीए चिफ् अनित थापा आएपछि श्रमिकहरूको समस्या समाधान भएकोमा सबै श्रमिकहरू र युनियन पक्षमा खुशी छाएको पनि भक्तिमान तामाङले बताएका छन्।

About Author

Advertisement