काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनका लागि अहिले ‘प्रोजेक्ट’ गरिएका मान्छेहरू देख्दा आश्चर्य लागेको बताए। पार्टीमा आबद्ध नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा पुलिस संगठन (नेपोन)ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले त्यस्ता मान्छेहरू देश चलाउँछन् कि हल्ला गर्छन्? भनी प्रश्न गरे। ओलीले देशको राजनीति योजनाबद्ध रूपमा मजाक बनाउने प्रयास भइरहेको आरोप लगाए।
उनले उम्मेदवार चयनको नाममा राजनीतिक दललाई नै कमजोर पार्ने र सडकबाट दरखास्त आह्वान गर्ने अभ्यासप्रति असन्तुष्टि व्यक्त गरे। यसले देश सञ्चालन गर्नसक्ने क्षमतावान व्यक्तिभन्दा प्रचार र हल्लामा चल्ने पात्रहरू अगाडि सार्ने खतरा रहेको उनको भनाइ थियो। अहिले ‘प्रोजेक्ट’ गरिएका अनुहारहरू हेर्दा देशको भविष्यप्रति गम्भीर चिन्ता पैदा भएको ओलीले बताए। अध्यक्ष ओलीले यस अवस्थामा सञ्चारमाध्यम र बौद्धिक वर्ग अपेक्षाकृत सजग नदेखिएको आरोप पनि लगाए। उनले भावनामा बगेर राजनीति विश्लेषण गर्ने प्रवृत्तिले न त सुशासन आउन सक्ने न त भ्रष्टाचार नियन्त्रण हुन सक्ने उल्लेख गरे।
८ सितम्बरमा भएका हिंसात्मक घटनाबारे बोल्दै ओलीले ती घटना तत्कालीन परिस्थितिको उपज नभई लामो समयदेखि योजनाबद्ध रूपमा तयार गरिएको दाबी गरे। उनले संसद्, सरकारको मुख्यालय र सर्वोच्च अदालत जस्ता संवेदनशील स्थान लक्षित गरी आक्रमण हुनु संयोग नभएको भन्दै यसलाई देशद्रोही कार्यको संज्ञा दिए। उक्त घटनामा ‘जेन-जी’को संलग्नता नरहेको र घुसपैठ, बहकाउ र ‘आत्मा किनबेच’ गर्ने तत्वहरू सक्रिय भएको उनको आरोप थियो।
आगामी निर्वाचन सन्दर्भमा ओलीले सरकार चुनाव गराउने मनस्थितिमा नरहेको दाबी गरे। पुलिस प्रशासनसँग बुझ्दा नै ‘चुनाव हुनसक्ने अवस्था छैन’ भन्ने जवाफ आउने गरेको उल्लेख गर्दै उनले सुरक्षा संयन्त्र कमजोर अवस्थामा रहेको बताए। म्यादी प्रहरीको व्यवस्थापन, मतदाताको सुरक्षाजस्ता आधारभूत प्रश्नको स्पष्ट उत्तर सरकारसँग नरहेको उनको भनाइ थियो। तर, चुनाव भए एमाले त्यसमा सहभागी हुने र जित्ने दाबी पनि उनले गरे।
कांग्रेस-एमालेले जित्ने अवस्था देखिएपछि चुनाव नै नगराउने षड्यन्त्र भइरहेको ओलीको आरोप छ। उनेले लोकतन्त्रमा चुनाव रोक्ने सोच नै खतरनाक हुने चेतावनी दिँदै यस्तो प्रवृत्तिले देशलाई झन् अस्थिरतातर्फ धकेल्ने बताए। अध्यक्ष ओलीले भावनात्मक होइन, विवेकपूर्ण राजनीति आवश्यक रहेको उल्लेख गर्दै देशको भविष्यसँग खेलवाड गर्ने कुनै पनि प्रयासप्रति सजग रहन सबैलाई आग्रह गरे।
अध्यक्ष ओलीले रवि लामिछाने, बालेन्द्र साह, कुलमान घिसिङहरूले अझै २० वर्ष निर्वाचन नजित्ने पनि दाबी गरे। उनले देशमा निर्वाचन भए एमालेले जित्ने पनि बताउछन्। उनले एमाले-कांग्रेसले चुनाव जित्ने भए नगराउने भन्ने पनि आफूले सुन्ने गरेको भन्दै आपत्तिसमेत जनाए। अध्यक्ष ओलीले बालेन्द्र साहप्रति लक्षित गर्दै केही पनि काम नगरेको मान्छेलाई महान् काम गरेको भनेर भन्ने पक्षमा कोही पनि नरहेको बताउछन्।







