खाद्य सुरक्षा र व्यापार अनुमतिपत्रमा व्यापक कमजोरी फेला
गान्तोक: गान्तोक जिल्ला प्रशासनद्वारा सञ्चालित साप्ताहिक निरीक्षण अभियानअन्तर्गत आज देवराली बजारमा संयुक्त निरीक्षण सम्पन्न भएको छ। एसडीएम (मुख्यालय) अभिजीत आर. पाटिलको नेतृत्वमा गरिएको निरीक्षणमा पेट्रोल पम्प, रेस्टुरेन्ट, मासु पसल तथा अन्य खुद्रा व्यवसायिक प्रतिष्ठानहरूको अनुगमन गरिएको हो।
निरीक्षणको उद्देश्य खाद्य सुरक्षा मापदण्ड, अग्नि सुरक्षा, उत्पाद शुल्क अनुपालन, सरसफाइ, प्याकेज गरिएका वस्तु नियम तथा अन्य वैधानिक र कानुनी प्रावधानको पालनाबारे मूल्याङ्कन गर्नु रहेको जिल्ला प्रशासनले जनाएको छ। निरीक्षणका क्रममा धेरै प्रतिष्ठानहरूमा खाद्य सुरक्षा मापदण्ड, सरसफाइ, वैधानिक कागजात तथा प्याकेजिङसम्बन्धी नियममा गम्भीर कमजोरी देखिएको बताइएको छ।
अनुगमन टोलीले विद्यमान नियम र कानुनअनुसार सम्बन्धित विभागमार्फत डिफल्टर प्रतिष्ठानहरूलाई सूचना जारी गर्ने, जफत गर्ने र प्रारम्भिक चेतावनीसहित आवश्यक कारबाही प्रक्रिया अघि बढाएको छ।
यसैबीच, शहरी विकास विभागले केही प्रतिष्ठानहरू व्यक्तिगत नाममा जारी गरिएको व्यापार अनुमतिपत्रका आधारमा सञ्चालन भइरहेको पाएको छ, जबकि तिनको जीएसटी दर्ता भने कम्पनी वा ब्रान्डको नाममा रहेको पाइएको छ। यो अवस्था व्यापार अनुमतिपत्र नियम, २०११ को उल्लङ्घन भएको जनाइएको छ। बजार अधिकारीले मार्च २०२६ मा हुने ट्रेड लाइसेन्स नवीकरणअघि कम्पनी वा ब्रान्ड नाममा सञ्चालन भइरहेका सबै पसल, रेस्टुरेन्ट र होटललाई तत्काल त्रुटि सच्याउन निर्देशन दिएका छन्।
जिल्ला प्रशासनले सार्वजनिक सुरक्षा, उपभोक्ता संरक्षण र नियामक अनुपालन सुनिश्चित गर्न यस्ता संयुक्त निरीक्षण अभियानलाई नियमित रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।








