११ अगस्त: बन्दाखेती स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित देवकुमार खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा बिहीवार दोस्रो राउण्डको म्याचमा मेचे बस्तीले टाई ब्रेकरमा रोमाञ्चक जीत हासिल गऱ्यो। लंगभ्यू बन्दाखेती खेल मैदानमा भएको म्याचमा मेचे बस्तीले ३९ जीटीसी बी टीमलाई टाईब्रेकरमा ८-७-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। विजेता टीमका साहिल साइबोलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ र २८ अगस्तमा खेलिनेछ। फाइनल ४ सेप्टेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएका छन्।









