देन्ताममा सरकारी कर्मचारी कल्याण संघ पश्चिम सिक्किमको साधारण सभा सम्पन्न

IMG-20220723-WA0168.jpg

गान्तोक: पश्चिम जिल्लाको मानेबुङ-देन्ताम समष्टिस्थित देन्ताम वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षागृहमा सरकारी कर्मचारी कल्याण संघको साधारण सभा आज सम्पन्न भयो। यस सभाको अध्यक्षता क्षेत्र प्रभारी पुर्णहाङ सुब्बाले गरेका थिए भने महकुमा अधिकारी देन्ताम एनके कार्की, सोरेङ महकुमा अधिकारी दयाराम बिष्ट, खण्ड विकास अधिकारी विजय सुब्बा, विभिन्न स्कूलका प्रधान आचार्य र अन्य विभिन्न विभागका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

केहि अघि मात्र गठन गरिएको मानेबुङ – देन्ताम सरकारी कर्मचारी संगमा कुल २६ सय सरकारी कर्मचारीहरु रहेका छन्।सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष लिलेन लिम्बूले यसरी क्षेत्र स्तरीय रुपमा गठन गरिनुको मुख्य उद्देश्य सामाजिक क्षेत्रमा कार्य गर्नु रहेको बताए। सेवाको भावनाले ग्रामीण भेगमा रहेका आम नागरिकलाई एकाअर्काको सहयोग पुऱ्याउने उदेश्य रहेको उनको भनाइ रहेको छ। संगठन कुनै एउटा सिङ्गो व्याक्तिले संचालन गर्न नसकिने अध्यक्षले मन्तव्य प्रकट गरे। ग्रामीण भेगका आम नागरिकले गाउँमा भएका कर्मचारीहरुसँग ठूलो आशा राखेका हुन्छन् भने सामुहिक कर्मचारी संघले ग्रामीण भेगको समस्या सुल्झाउने र आवश्यकता पूरा गर्ने संगठनको उद्देश्य छ। यसै क्रममा महकुमा अधिकारी एनके कार्कीले सरकारी कर्मचारीले आफ्नो कामलाई ९९ प्रतिशत कर्ममा लगाएको हुनुपर्छ भने एक प्रतिशत समाजलाई दान दिने क्षमता बनाउनुपर्ने सुझाउ दिए। सोही प्रकारले सभालाई सम्बोधन गर्दै सभा अध्यक्ष एवं क्षेत्र प्रभारी पुर्णहाङ सुब्बाले मानेबुङ- देन्ताम क्षेत्रस्तरीय नवगठित विभिन्न विभागीय सरकारी कर्मचारीहरुको यस प्रकारको समन्वय सभा आयोजना बधाई दिँदै गाउँ समाज र क्षेत्रको विकासमा कर्मचारी संघको नै सबैभन्दा ठूलो भूमिका रहने उनले बताए। समाजलाई परेको आर्थिक बिपत्तिमा पनि गाउँकै कर्मचारीको भरोसामा गाउँले नागरिकहरु बसेको उनले अवगत गराए। मानेबुङ-देन्ताम क्षेत्रमा पनि ए देखि डी ग्रेडसम्मका कर्मचारीहरु रहेको र अब सबैले आफ्नो पुरा गर्नुपर्ने आग्रह गरे। वर्तमान राज्य सरकार नयाँ सोंच नयाँ विचार भाव लिएर आएको छ। मुख्यमन्त्री प्रेम सिंह गोलेको नेतृत्वमा चलेको सरकारले पहिला जस्तो कर्मचारीहरुलाइ राजनीतिक त्रास, भय र सत्ताको दबाउ, पक्षपात नगरेको दावी गरे। एसकेएम पार्टीको सरकारले समय अनि प्रणाली अनुसार कर्मचारीहरुको पदोन्नति गर्दै आइरहेको बताए।

यसरी नै अस्थायी कर्मचारीलाई आठ वर्षमा स्थायीकरण गरिने सरकारले घोषणा गर्नको साथै योजना पनि बनाएको किटान गरे।

About Author

Advertisement