जलपाइगढी: सिलगढीदेखि करिब ९ किलोमिटर टाढ़ोमा अवस्थित दूरदर्शन केन्द्र जलपाइगढी अवस्थित छ। यो उत्तर बङ्गालका आठवटा जिल्ला अनि १ करोड़ ५० लाखभन्दा अधिक जनसंख्यामा पुग्नसक्ने उत्तर बङ्गालको एउटै दूरदर्शन केन्द्र हो। दूरदर्शन केन्द्र जलपाइगढीले डीडी बाङला साथै देशका अन्य भागका दूरदर्शन नेटवर्कको निम्ति कार्यक्रमहरू निर्माण गर्ने र सम्प्रेषण गर्ने गर्दछ। दर्शकहरूले यी प्रसारित कार्यक्रमहरू डीडी बाङलाबाट सेटलाइट मार्फत हेर्न सक्दछन्। अर्को शब्दमा, डीडी बाङला च्यानललाई दर्शकहरूले देशभित्र र देशबाहिर अन्तर्राष्ट्रिय तवरमा नै हेर्न सक्दछन्।
आउँदो ९ अगस्तदेखि डीडी बाङला च्यानलबाट “सप्तरङ्गी” नामक एक नयाँ नेपाली कार्यक्रम प्रसारण आरम्भ हुन लागिरहेको छ। यो कार्यक्रम प्रत्येक मङ्गलबार बिहान १०.३० देखि ११.०० बजेसम्म र प्रत्येक आइतबार राती १०.३० देखि ११.०० बजेसम्म प्रसारण गरिनेछ। दूरदर्शन केन्द्र जलपाइगढीका कार्यक्रम प्रमुख अनि आकाशवाणी सिलगढीका कार्यक्रम प्रमुख योगेन्द्रराज सुन्दासले एक प्रेस विज्ञप्तिमार्फत जनाएअनुसार यो नयाँ “सप्तरङ्गी” कार्यक्रममा नेपाली संस्कृति, परम्परा, रीतिरिवाज आदिको समृद्ध परम्परालाई समेटेर प्रसारण गरिनेछ। यी बाहेक, यस अञ्चलका ख्यातिप्राप्त कलाकारहरूद्वारा नेपाली आधुनिक अनि लोक गीतहरूसित लोक, पारम्परिक अनि आदिवासी नृत्यका प्रस्तुतिहरू प्रसारणमा रहनेछन्। यसका साथै वार्ता, वार्तालाप, परिचर्चा, विभिन्न व्यक्तित्वसितका अन्तर्वार्ता, नाटिकाहरू आदि समावेश रहनेछन्। यी कार्यक्रमहरूद्वारा नेपाली समुदायका दर्शक/श्रोताहरू सूचना, शिक्षा र मनोरञ्जन प्राप्त गर्दै लाभान्वित बन्नेछन् भन्ने कुरो कार्यक्रम प्रमुख सुन्दासले जनाएका छ्न्l










