नयाँ दिल्ली: हिन्दी सिनेमामा खलनायक बनेर चर्चामा आएका अभिनेता शक्ति कपूरका छोरा सिद्धान्त कपूरलाई बैंगलोर पुलिसले लागूऔषध दुर्व्यसनको आरोपमा पक्राउ गरेको छ। रेभ पार्टीमा छापा मार्ने क्रममा पुलिसले सिद्धान्तलाई पक्राउ गरेको हो। यसअघि उनलाई हिरासतमा राखिएको थियो, तर रगत परीक्षणको रिपोर्टमा लागूऔषध सेवन गरेको पुष्टि भएपछि सिद्धान्तलाई पक्राउ गरिएको छ। समाचार संस्थाहरुका अनुसार डीसीपी डा. भीमाशंकर एस गुलेदले पत्रकारहरूलाई जानकारी दिँदै भने- बलिउड अभिनेता शक्ति कपूरका छोरा सिद्धान्त कपूरले लागूऔषध सेवन गरेको पुष्टि भएको छ। उनको रगत परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ। त्यसैले उनलाई उल्सुर पुलिस थानामा ल्याइएको छ। आइतबार राति बैंगलोरको एमजी रोडमा रहेको महँगो होटलमा रेभ पार्टी चलिरहेको थियो, जहाँ गोप्य सूचना पाएर पुलिसले छापा मारेको थियो।
सिद्धान्तसँगै थप चारजनालाई पुलिसले पक्राउ गरेको छ। पुलिसका अनुसार सिद्धान्त उपस्थित भएको पार्टीमा करिब ३५ जनालाई बोलाइएको थियो। छापा मारिएपछि सबैको स्वास्थ्य परीक्षण गरियो। तीमध्ये सिद्धान्तसहित ५ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। छापा मारेर पुलिसले सातवटा एक्स्टेसी चक्की र प्रतिबन्धित लागुऔषधको प्याकेट समेत बरामद गरेको छ। सबै अभियुक्तहरूलाई लागूऔषध र साइकोट्रोपिक सब्स्टन्सेस ऐन (एनडीपीएस) अन्तर्गत धारा २२ए, २२बी र २७बीअन्तर्गत पक्राउ गरिएको छ। एएनआईका अनुसार पुलिसले कुनै पनि व्यक्तिसँग एमडीएम र गांजा फेला पारेन, तर नजिकै फेला पार्यो। कसले फ्याँक्यो भन्ने पत्ता लगाउन सीसीटीभी जाँच गरिनेछ। आरोपीले होटलमा नै लागुऔषध सेवन गरेका हुन् वा बाहिरबाट लागुऔषध लिएर पार्टीमा आएका हुन् भन्ने हाल खुल्न नसकेको अधिकारीहरुले बताएका छन्। पुलिसले होटल व्यवस्थापनलाई नोटिस पठाएर केही प्रश्नको जवाफ समेत माग गरेको छ।
यसअघि २०२० मा बैंगलोर पुलिसले कन्नड फिल्म उद्योगमा लागुऔषध दुरुपयोगको एउटा ठूलो मुद्दालाई पनि उजागर गरेको थियो, जसमा दुई अभिनेत्रीलाई पक्राउ गरिएको थियो। यसैबीच, बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि एनसीबीले बलिउडमा लागुऔषधको सम्बन्धमा गहिरो अनुसन्धान गरेको थियो, जसमा धेरै सेलिब्रेटीहरूलाई सोधपुछका लागि बोलाइएको थियो। जसमध्ये सिद्धान्तकी बहिनी श्रद्धा कपूर पनि थिइन्।









