आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती पालन गरिने

IMG-20230603-WA0224.jpg

गान्तोक। नेपाली साहित्य परिषद्, सिक्किमको तत्वावधानमा आउँदो १३ जुलाई २०२३ को दिन आदिकवि भानुभक्त आचार्यको दुईसय नवौँ जन्मजयन्ती आयोजन गर्ने निर्णय भएको छ। गान्तोकको डेभलपमेन्ट एरियाको जीवन थिङ मार्गस्थित परिषद् भवनमा शनिवार विशेष सभा सम्पन्न भयो। सो सभाले राज्यका ग्राम विकास विभाग मन्त्री सोनाम लामालाई राज्य स्तरीय जयन्ती समारोह समितिको अध्यक्ष मनोनीत गरेको छ। विभिन्न निकाय एवम् संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा आयोजित सो सभाले आउँदो भानु जयन्ती समारोहलाई भव्य एवम् सभ्य रूपमा पालन गर्ने निर्णय लिएको छ।
यसपल्ट भानु जयन्तीको नारा रहेको छ “हाम्रो अस्तित्व हाम्रो चिनारी।” समारोहमा भानु पुरस्कारलगायत भाषा गौरव सम्मान अनि श्री सेवा सम्मानद्वारा विभिन्न भाषासेवी एवम् साहित्यकारलाई विभुषित गरिनेछ। यसरी नै सभाले नेपाली साहित्य परिषदको कार्यकारी समिति अधिनस्थ भानु जयन्ती आयोजक समितिमा पर्ने विभिन्न उप-समितिहरू तथा त्यस समितिमा विभिन्न व्यक्तिहरूलाई पनि पदभार सुम्पिएको छ।
सभालाई सम्बोधन गर्ने क्रममा सभाध्यक्ष मन्त्री लामाले भानु जयन्ती समारोहलाई सिक्किमे एकता झल्काउने तथा सिक्किमे परम्परा एवम् संस्कृतिको जगेड़ा गर्ने साथै आउँदो पिढीलाई सन्देश दिने किसिमका कार्यक्रमहरू पनि समावेश गर्न आयोजक समितिलाई आग्रह गरे। उनले अन्य राज्यका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पनि सो कार्यक्रममा सामेल गराउन निम्तो दिएर बोलाउने अनुरोध गरे। उनले कार्यक्रम आयोजनाका लागि पूरा सहयोग दिने प्रतिबद्धता व्यक्त गरे।
सो सभामा नेपाली साहित्य परिषदका अध्यक्ष हरि ढुङ्गेलले भानु जयन्ती कार्यक्रम आयोजनाका लागि राज्यका विभिन्न संघ-संस्थाहरूलाई संलग्न गराउने तथा शोभा यात्रा, रामायण पाठ, सांस्कृतिक कार्यक्रम, साहित्यिक कार्यक्रम आदि प्रतिस्पर्धात्मक रूपमा गरिने विचार व्यक्त गरे। उनले सफल आयोजनाका लागि परिषदको कार्यकारी समिति तथा आयोजक समितिबीच तालमेल राखेर काम गर्ने आग्रह गरे।
सो सभामा गान्तोक म्यूनिसिपल कर्पोरेशनका मेयर नील बहादुर छेत्री, उप-मेयर छिरिङ पाल्देन भोटिया, पार्षदहरू, गान्तोक जिल्लाका पञ्चायत अध्यक्ष बलराम अधिकारीसहित विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।

About Author

Advertisement