गान्तोक: दुई दिवसीय १६औं सिक्किम स्टेट ओपन स्वीमिङ प्रतियोगिताको आज समापन भयो। आज समापन दिनको कार्यक्रममा मुख्य अतिथिको रुपमा राज्यका भवन तथा आवास विभाग मन्त्री सञ्जित खरेल उपस्थित थिए भने विशिष्ठ अतिथिको रुपमा सोरेङ च्याखुङ क्षेत्रका विधायक आदित्य गोले उपस्थित थिए। सिक्किम अमेच्युर स्वीमिङ एसोसिएशनका अध्यक्ष कुबेर भण्डारीले मुख्य अतिथि अनि विशिष्ठ अतिथिद्वयलाई सासाको तर्फबाट मोमेन्टो लगायत जर्सी प्रदान गरेर समापन कार्यक्रममा स्वागत जनाए।

छोग्याल पाल्देन थोण्डुप नाम्ग्याल जन्म सतवार्षिकी कार्यक्रम अन्तर्गत सिक्किम अमेच्युर स्वीमिङ एसोसिएशनद्वारा आयोजित दुई दिवसीय राज्यस्तरीय स्वीमिङ प्रतियोगिता गत १३ अगस्तको दिन कर्टन रेजर कार्यक्रम सम्पन्न भएको थियो। यस प्रतियोगितामा राज्यका विभिन्न विद्यालय साथै व्यक्तिगतरूपमा गरेर कूल १४० स्वीमरहरूले भाग लिएका थिए। आज समापन दिनमा भने रिले स्वीमिङ आकर्षण रहेको थियो। कार्यक्रममा आइरन म्यान २०२२ योगेश गुरुङलाई मुख्य अतिथि अनि विशिष्ठ अतिथिको बाहुलीबाट सम्मान जनाइयो।

कोविड महामारी पछि पहिलोपल्ट सम्पन्न यो स्वीमिङ प्रतियोगिताले राज्यका स्वीमिरहरूलाई धोरै उत्साह प्रदान गरेको सासाका अध्यक्ष कुबेर भण्डारीले विचार प्रकट गरेका छन्। यहाँ उत्कृष्ट प्रदर्शनि गर्ने स्वीमिरहरूलाई आगामी ३० अक्टोबरदेखि शुरु हुने नर्थ इष्ट ओलम्पिकको निम्ति तयारी गर्ने पनि उनले थप बताए। यसको साथै राज्यमा स्वीमिङ अभ्यास गर्ने ठाउँको अभावलाई ध्यानमा राखेर राज्य सरकारको पहलमा ओलम्पिक मापदण्डको स्वीमिङ पूलको निम्ति निर्माण भइरहेको उनले जनाए। दुई दिवसीय प्रतियोगिताले राज्यमा स्वीमिङको भविष्य उज्जवल रहेको थाहा लागेको पनि उनले महसुस गरे।










