दुई दिवसीय बीजीएमआई सिरिज ३ शुरु

Screenshot_20240901_001833_Facebook

गान्तोक: राजधानीस्थित पाल्जर स्टेडियममा आजदेखि दुई दिवसीय बीजीएमआई सिरिज ३ शुरु भएको छ। सिक्किम इ-स्पोर्ट अर्गनाइजेसनद्वारा आयोजित यस प्रतियोगितामा गान्तोक क्षेत्रका विधायक दिले नामग्याल बर्फुङ्पा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए भने गरीब जन कल्याण प्रकोष्ठका मुख्य संरक्षक प्रभाकर गोले विशिष्ट अतिथिका रुपामा उपस्थित रहेका थिए।

प्रमुख अतिथि विधायक बर्फुङ्पाले विभिन्न ठाउँहरुबाट यस खेलमा भाग लिन आउने प्रतिभागीहरुलाई राज्यमा स्वागत जनाउँदै उनीहरुको सिक्किमको यो बसाइँ आनन्दमय रह‍ोस् भनी शुभकामना व्यक्त गरे। यति सुन्दर कार्यक्रम आयोजना गरेकोमा उनले आयोजक समितिलाई धन्यवाद पनि दिए। आफूलाई ई-गेमबारे त्यति बढी जानकारी नभएको तर आजको कार्यक्रममा आएपछि ई-गेमको आनन्द उठाउन सकेकोमा साथै यस कार्यक्रमबाट धेरै कुरा सिक्न सकेको बताउँदै हर्ष प्रकट गरे।

वर्तमान समयमा विशेष गरेर युवावर्गमा देखा परेको ई-स्पोर्टसप्रतिको रुचिलाई ध्यानमा राख्दै तथा यो खेल पनि अन्य खेलसरह खेल्न सकिने र यसबाट युवावर्गले लाभ पनि उठाउन सक्ने सम्भावनाहरुलाई ध्यानमा राख्दै यो प्रतियोगिता आयोजना गरिएको आयोजक संगठनका सह संस्थापक रोहन प्रधानले जानकारी गराए। उनले सिक्किमका युवाहरुमा साथै अभिभावकहरुमा पनि ई-गेमप्रति सकारात्मक दृष्टिकोण फैलाउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको बताए। आजदेखि शुरु भएक‍ो यस खेलमा देशभरिका अन्य राज्यहरुबाट धेरै खेलाडीहरुले भाग लिइरहेका छन् भने राज्यका चार दलले भाग लिइरहेको उनले जानकारी दिए।

भोलि हुने फाइनलमा प्रवेश गर्ने दुईवटा दलले पारितोषिकको रुपमा नगद पुरस्कार प्राप्त गर्ने छन् साथै ती दुई दलले आगामी अन्तरराष्ट्रिय स्तरक‍ो ई-गेम प्रतियोगितामा पनि भाग लिने अवसर पाउने छन्।

About Author

Advertisement