कालचिनी: डिजिटल युगसम्मत समयमा शिक्षा पनि अहिले डिजिटल भएकोले सरकारी स्कूलहरुलाई स्मार्ट टेलिभिजन प्रदान गरेर मदत पुऱ्याउने दिशामा दुईवटा स्वेच्छासेवी संस्था अघि आएको छ। रुरल एड र भादाम नामक दुईवटा स्वेच्छासेवी संस्थाद्वारा बिहीबार हाँसीमारा क्षेत्रको हाँसीमारा हिन्दी हाइस्कूल र मधु टीजी हिन्दी हाइस्कूलमा दुईवटा स्मार्टटीभी प्रदान गरिएको जानकारी रुरल एडका संयोजक धीरज लेप्चाले दिएका छन्। आउँदो दिनमा दलसिंहपाड़ा, तोर्षा लगायत अन्यान्य ५ वटा स्कूलहरु मिलाएर प्रायः १२ वटा स्मार्टटीभी प्रदान गर्ने योजना रहेको रुरल एड सुत्रले जनाएका छन्। हाँसीमारा हिन्दी हाई स्कूल र मधु टीजी हिन्दी हाइस्कूलमा उक्त स्मार्ट टेलिभिजनको उद्घाटन कालचिनीका ज्वाइन्ट बीडीओ शिवलाल शर्माको बाहुलीबाट गरिएको थियो। यस अवसरमा हाँसीमारा हिन्दी हाइस्कूलका प्रधान शिक्षक अमृत कुमारले स्मार्ट टेलिभिजन मार्फत विद्यार्थीहरुलाई डिजिटल कक्षामा धेरै मदत पुग्ने जनाएका छन्।









