दिव्य ज्योति समिति लोवर बरदाङले गाउँमा फोहोर प्रबन्धनको निम्ति कठोर पहल गर्ने

IMG-20220904-WA0198.jpg

सिङ्ताम: दिव्य ज्योति समिति लोवर बरदाङले गाउँमा फोहोर प्रबन्धनको निम्ति कठोर पहल गर्ने भएको छ। यदि कसैले जताभावी फोहोर फ्याँकेको प्रमाणित भएको खण्डमा उनलाई एक हजार जरीमाना तिराउने निर्णय आज सम्पन्न समितिको एक सभाले लिएको छ। फोहोर संग्रहको समय तालिका र दिन निर्धारण गरिएको पोस्टर गाउँको विभिन्न स्थानमा राखिने, पामप्लेट पर्चा वितरणसहित माइकिङ गरेर फोहोर प्रबन्धबारे सबैलाई सतर्क गराउने पनि सभाले निर्णय गरेको छ। अध्यक्ष प्रताप सिंह राईको अध्यक्षतामा सम्पन्न उक्त सभाले लोवर बरदाङदेखि ठीक पारी रिकेप दक्षिण सिक्किममा टनल खननको काम गर्ने जेपी कम्पनीले मानिसहरु मस्त निदाइरहेको बेलामा टनलमा बलस्टिङ पड़्काउने गरेकोले लोवर बरदाङका मानिसहरुलाई त्रसित बनाएको तथा नानीहरु तर्सिएर सुत्नै नमानेको एंव कतिपय बुढ़ा-पाकाहरुको हृदयाघात हुने सम्भावना रहेको चर्चा गर्दै समितिको एक टोलीले जीपी कम्पनीका अधिकारीहरुसित भेट गरेर यस विषयमा कुरा गर्ने निर्णय गरेको छ। सभाले अब गाउँमा जति पनि खेलकूद कार्यक्रम आयोजन गरिन्छ ती सबै कार्यक्रम समितिले नै आयोजन गर्ने प्रस्ताव पारित गरेको छ। यसरी नै बरदाङ गाउँमा घरि-घरि बिजुली बत्ती जाने गरेकोमा दुख व्यक्त गर्दै यस विषयमा पनि विद्युत विभागलाई एक ज्ञापन पत्र चढ़ाएर बिजुलीको समस्यालाई समाधान गरियोस भनी अपील गर्ने पनि यस सभाले निर्णय गरेको छ। लोवर बरदाङको खेल मैदानमा कसैले कुनै खेलकूद आयोजन गर्छ भने उनीहरुले समाजसित अनुमति लिएको हुनु पर्छ जस्ता प्रस्ताव पनि आजको सभाले पारित गरेको छ। एटीटीसी एरियामा मरौ परेको घर, जो समाजको सदस्य नभएता पनि समाजले सबैथोकको व्यवस्था गरेर मरौको काम उतारी दिने भएको छ। अध्यक्ष प्रताप सिंह राईले स्थानीय एसएचजीहरुका निम्ति गाउँमा क्याफेटेरिया दोकान खोलिने तथा दोकान निर्माणको काम आफ्नो देखरेखमा अब चाँड़ै शुरु गरिने जानकारीसहित २० माइलदेखि लोवर बरदाङको विभिन्न ठाउँमा पाँचवटा सोलर लाइट जड़ान गरिने काम पनि चाँड़ै गरिने सभालाई जानकारी गराए।

About Author

Advertisement