नयाँ दिल्ली: लोकसभा चुनावका लागि राजनीतिक दलहरुले प्रचारप्रसार शुरु गरेका छन्। सबै दल आ–आफ्नो तरिकाले चुनावी प्रचारमा जुटेका छन्। आज दिल्लीको रामलीला मैदानमा विपक्षी दलहरूको गठबन्धन इंडियाले एक मेगा र्याली आयोजना गर्यो। जसमा विपक्षी दलका धेरै नेताहरुको सहभागिता रहेको छ। विपक्षी गठबन्धनले यो र्यालीलाई ‘लोकतन्त्र बचाउ र्याली’ नाम दिएको छ। यस र्यालीमा अरविन्द केजरीवालकी पत्नी सुनिता केजरीवाल पनि सहभागी भएकी छिन्। र्यालीमा सोनिया गान्धी (कांग्रेस), एम खड्गे (कांग्रेस), राहुल गान्धी (कांग्रेस), शरद पवार (एनसीपी), उद्धव ठाकरे (युबीटी), आदित्य ठाकरे (युबीटी), अखिलेश यादव (एसपी), तेजस्वी यादव (आरजेडी) डेरेक ओ’ब्रायन (टीएमसी), टी शिव (डीएमके), फारुक अब्दुल्ला (एनसी), चम्पाई सोरेन (जेएमएम), कल्पना सोरेन (जेएमएम), सीताराम येचुरी (सीपीआईएम), डी राजा (सीपीआई), दिपङ्कर भट्टाचार्य (सीपीआई-एमएल), जी देवराजन (फरवर्ड ब्लक) सम्मिलित भए।
दिल्लीको रामलीला मैदानमा भएको विपक्षी गठबन्धनको र्यालीमा शिवसेना युबीटी प्रमुख उद्धव ठाकरेले गठबन्धन सरकारमा जोड दिएका छन्। उनले एउटा व्यक्ति र पार्टीले सरकार चलाउन नसक्ने बताए। ‘मिलिजुली सरकार बनाउनुपर्छ’, उनले भने। समग्र देश कल्पना सोरेन र सुनिता केजरीवालको साथमा रहेको उनले बताए। उनले भने, ‘अरविन्द केजरीवाल र हेमन्त सोरेनलाई पक्राउ गरेर जनता डराउँलान् भन्ने भाजपालाई लागेको हुनसक्छ तर उनीहरूले आफ्ना देशवासीलाई कहिल्यै चिन्न सकेनन्’, उनले भने।
अरविन्द केजरीवालकी पत्नी सुनिता केजरीवालले र्यालीमा दिल्लीको मुख्यमन्त्रीको सन्देश पढेर सुनाइन्। उनले केजरीवाललाई लामो समय जेलमा राख्न नसकिने, उनी सिंह भएको बताए। ‘भाजपाले केजरीवालले राजिनामा दिनुपर्छ भनी भनिरहेका छन्, केजरीवालले राजीनामा दिनुपर्छ? उनले जेलबाटै गठबन्धनको तर्फबाट केजरीवालले ६ ग्यारेन्टी दिएका छन्- पूरै देशलाई २४ घण्टा नि:शुल्क बिजुली दिने ग्यारेन्टी, देशको हरेक जिल्लामा मोहल्ला क्लिनिक, दिल्लीलाई पूर्ण राज्यको दर्जा, किसान र सबै इलाकालाई एमएसपी। राम्रो विद्यालयको ग्यारेन्टी’, उनले भनिन्।
‘हामी आदिवासीहरूको कथा लामो युद्धको कथा हो। लोकतन्त्रलाई अन्त्य गर्ने प्रयास भएको छ, तपाईंहरू यसलाई अन्त्य गर्न आएका छौ। आज संविधानका प्रत्याभूतिहरु खारेज हुँदैछन्। उनीहरुको ग्यारेन्टी कसले दिने ? देशमा कोही नेता महान हुन सक्दैन। देशका जनता सबैभन्दा ठूलो हुन्। देश बचाउन चाहने हो भने आईएनडीआईए गठबन्धनलाई साथ दिनुपर्छ’, कल्पनाले भनिन्, ‘हेमन्तजी ठ्याक्कै २ महिना अघि पक्राउ परेका थिए र केजरीवाल जी १० दिन अगाडि बिना प्रमाण पक्राउ परेका छन्। आज हामी सबैले भगवान रामको आदर्शबाट पाठ सिक्नुपर्छ। झारखण्ड झुक्ने छैन, भारत झुक्ने छैन।‘ पीडीपी प्रमुख मेहबुबा मुफ्तीले भनिन्, ‘आज देश धेरै कठिन परिस्थितिबाट गुज्रिरहेको छ। यस्तो छ अवस्था, न वकिल, न तर्क, न कारबाही, सिधै जेल। सायद यसैलाई कलियुगको अमृतकाल भनिन्छ कि तिमीले जनतालाई केही न सोधी जेलमा हाल्छौ… म तिम्रै जनप्रतिनिधिको कुरा गर्दैछु जसलाई भोट हालेर विधायक, सांसद, मुख्यमन्त्री, मन्त्री बनाउनुहुन्छ। कसरी उनीहरूलाई भ्रष्टाचारको आरोप लगाइन्छ र कुनै वकालत र कारबाही बिना जेलमा हालिन्छ… हामीले विगत ५ वर्षदेखि जम्मू कश्मीरमा देखेका छौं।‘









