कालचिनी। गत १ मईको दिन राईमाटाङ चिञ्चुलाबीच सड़कमा हेमिल्टनगञ्ज नेताजी एकजना व्यावसायी दिलीप पालको निर्ममतापूर्वक हत्या गरिएको थियो भने सो हत्याकाण्डमा संलिप्त आरोपीहरूको खोजी गर्न पुलिस हात धोएर पछि लागेको थियो।
प्रायः ४६ दिनपछि पुलिसले उक्त हत्याकाण्डमा जड़ित एकजना युवक कुशल छेत्री उमेर ३६ मेचपाड़ा ८ नम्बर निवासीलाई प्रथमत पक्राउ गरेर सोधखोज गर्दा अर्को एकजना भरत उर्फ़ काले छेत्री उमेर ३५ लाई पुलिसले पक्राउ गर्न सफल भएको थियो।
पुलिसको सोधखोजमा दुवै आरोपीले पुलिस समक्ष सबै स्वीकार गर्दै बयान दिएको आधारमा आज दुवै अभियुक्तलाई अलिपुरद्वार जिल्ला अदालतमा पठाएको छ भने दुईमध्ये एकजना मुख्य आरोपी भरत उर्फ़ काले छेत्रीलाई पुलिस रिमान्डमा ल्याउने जनाएका छन्।

आज उक्त हेमिल्टनगञ्जका व्यावसायी दिलीप पालको हत्या रहश्य सुल्झिएको बताउँदै एएसपी कुन्तल ब्यानर्जीले अलिपुरद्वार एसपी वाई रघुवंशीको निर्देशमा गठित पुलिसको जाँच टोली कालचिनी थाना प्रभारी टीएन लामाको अगुवाईमा यस हत्याकाण्डमा संलिप्त अपराधीहरूको खोजीमा लागिपरेको र प्रायः डेढ़ महीनाको अन्तरालमा हत्यारोपी भरत उर्फ़ काले छेत्री र कुशल छेत्रीलाई पुलिसले पक्राउ गर्न सफल भएको जनाएका छन्।
जुन हतियारले दिलीप पालको हत्या गरिएको थियो उक्त हतियार पनि पुलिसले बरामद गरेको छ भने उक्त हत्यामा अन्य कोही संलिप्त छ वा छैन त्यसको छानबीन चलिरहेको र पुलिस रिमाण्डमा ल्याएपछि अझै जाँच पड़ताल गरिने एएसपी कुन्तल ब्यानर्जीले जनाएका छन्।










