दार्जीलिङ: आज स्थानीय मिलन संघ लासा भिल्ला दार्जीलिङमा नेहरू युवा केन्द्र दार्जीलिङ र मिलन संघको संयुक्त तत्वधानमा स्वामी विवेकानन्दको १६१औं जन्म जयन्तीको अवसरमा राष्ट्रीय युवा सप्ताह अन्तर्गत राष्ट्रीय दिवस पालन गरियो। भोलन्टेरी युथ आर्गनाइजेशन दार्जीलिङ्का उपाध्यक्ष श्रद्धा तामाङको स्वागत सम्भाषणबाट शुरू गरिएको यस कार्यक्रममा भोलन्टेरी युथ आर्गनाइजेशनका मूल सचिव शिवकुमार राईको मुख्य उपस्थिति थियो भने कार्यक्रमका प्रमुख अतिथि संघका अध्यक्ष प्रताप सार्की थिए। कार्यक्रममा लगभग ५० जना युवाहरूलाई लिएर स्वामी विवेकानन्दको विषयमा निबन्ध प्रतियोगिता पनि राखिएको थियो।

अध्यक्ष प्रताप सार्कीको बाहुलीबाट द्वीप प्रज्वलन एवं शिवकुमार राईद्वारा माल्यार्पण गरेपछि सम्पन्न गरिएको प्रतियोगितामा निर्णायक शुशाङ्क राईको निर्णय अनुसार प्रथम तेनजिङ्ग तामाङ, दोस्रो दिपेश तामाङ र तेस्रो दिगेन तामाङ भएका छन्। अन्त्यमा फलाफल आएपछि प्रथम, दोस्रो र तेस्रो हुनेलाई विजय चिह्न मुख्य अतिथि प्रताप सार्कीको बाहुलीबाट प्रदान गरियो भने सम्पूर्ण सहभागी प्रतियोगीहरूलाई शिवकुमार राई र श्रद्धा तामाङको बाहुलीबाट प्रमाण पत्र प्रदान गरियो भनी श्रद्धा तामाङद्वारा जानकारी गराइएको छ।











