दार्जिलिङ: सिलगढीदेखि दार्जिलिङसम्मको ऐतिहासिक पहिलो पूर्ण रेल यात्राको १४५औँ वर्षगाँठका अवसरमा दार्जिलिङका सांसद राजु विष्टले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत दार्जिलिङ हिमालयन रेलवे (डीएचआर) अर्थात् चर्चित ‘ट्वाय ट्रेन’ हाम्रो समृद्ध सम्पदा, उत्कृष्ट इन्जिनियरिङ र दार्जिलिङ पहाडको अनुपम प्राकृतिक सौन्दर्यको कालातीत प्रतीक भएको उल्लेख गरेका छन्।
सांसद विष्टले यो ऐतिहासिक रेल सेवाले पहाड, तराई र डुअर्सको गौरवलाई विश्वसामु प्रदर्शन गर्दै यहाँका जनतालाई एकापसमा जोड्ने काम गरिरहेको बताएका छन्। उनले दार्जिलिङ हिमालयन रेलवेको गौरवशाली सेवा र विरासत आगामी दिनमा पनि अझ सशक्त रूपमा अघि बढिरहोस् भन्ने कामना समेत गरेका छन्।










