दलसिंगपाड़ा स्पोर्टस एकाडमी च्याम्पियन

IMG_20220807_234415.jpg

७ अगस्तः रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी.जी. फूटबल अनर कप २०२२-मा दलसिंगपाड़ा स्पोर्टस एकाडमी (डीएसए) च्याम्पियन भयो । रामझोड़ा टी.जी. फ्याक्ट्री लाइन मैदानमा जारी यस टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको फाइनल म्याचमा दलसिंगपाड़ा स्पोर्टस एकाडमीले लंकापाड़ा मिलन क्लबलाई ३-१-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट तानदिन लामाले ६०औं, रबिन तामाङले ७३औं र दीपराज सार्कीले ७८औं मिनटमा गोल गरे।

यसरी नै मिलन क्लबबाट कुनाल थापाले ५८औं मिनटमा गोल गरे। टुर्नामेण्टमा विजेता हुने टीमलाई ५० हजार रुपियाँको साथमा आकर्षक ट्रफी प्रदान गरियो। यसरी नै उपविजेता टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसबाहेक व्यक्तिगत पुरस्कारहरूमा च्याम्पियन डीएसए-का तानदिन लामाले हीरो अव् द म्याच, रबिन तामाङले प्लेयर अव् द टुर्नामेण्ट र कल्याण रोयले बेस्ट गोलकीपरको पुरस्कार जिते। यसरी नै दार्जीलिङ पुलिस टीमका सिद्धान्त छेत्रीले सर्वाधिक गोल स्कोररको पुरस्कार जिते। उनले टुर्नामेण्टमा ५ गोल गरे। यसबाहेक सर्वश्रेष्ठ डिफेण्डरको पुरस्कार मिलन क्लबका विशाल रोयले जिते।

About Author

Advertisement