नाम्ची: नाम्चीका वरिष्ठ कथाकार थिरूप्रसाद नेपाललाई तेस्रो ‘लीलबहादुर क्षत्री पुरस्कार’ प्रदान गरिने भएको छ। लीलबहादुर क्षत्री फाउन्डेसनका अध्यक्ष डा. कमल छेत्रीले हिजो पुरस्कारको घोषणा गरेका हुन्।
कथाकार नेपाललाई उनको कथा सङ्ग्रह ‘श्रवणकुमारको देशमा’ का लागि उक्त पुरस्कार प्रदान गर्न लागिएको हो। फाउन्डेसनका अनुसार आगामी १ मार्च २०२६ मा गुवाहाटीस्थित शङ्करदेव कला क्षेत्रमा आयोजना हुने प्रख्यात साहित्यकार लीलबहादुर क्षत्रीको ९४औँ जन्मजयन्तीको अवसरमा हुने भव्य कार्यक्रममा पुरस्कार अर्पण गरिनेछ।
पुरस्कारका लागि हरेक वर्ष तीन सदस्यीय जुरी गठन गरिने र जुरीको निर्णयअनुसार पुरस्कार घोषणा गरिने फाउन्डेसनले स्पष्ट गरेको छ। पुरस्कारअन्तर्गत नगद राशि, अङ्गवस्त्र तथा मानपत्र प्रदान गरिनेछ।
नेपाली साहित्यका प्रख्यात आख्यानकार तथा भारत सरकारद्वारा पद्मश्री सम्मानले सम्मानित असमका लीलबहादुर क्षत्रीको नाममा स्थापित फाउन्डेसनले विगत तीन वर्षदेखि ‘लीलबहादुर क्षत्री पुरस्कार’ प्रदान गर्दै आएको छ। नेपाली आख्यान साहित्यमा विशिष्ट योगदान पुर्याउने आख्यानकार वा उत्कृष्ट कृतिलाई सम्मान गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको हो।
सन् २०२४ मा सुरु भएको उक्त पुरस्कार पहिलो पटक ‘रिमाननी घाटका कथाकार’ का रूपमा चिनिने तेजपुर, असमका कथाकार खड्गबहादुर कौशिकलाई प्रदान गरिएको थियो। दोस्रो वर्ष सन् २०२५ मा डुवर्सेली कवि तथा कथाकार अबीर खालिङ यस पुरस्कारबाट सम्मानित भएका थिए।
यस वर्ष पुरस्कारका लागि चयनित कथाकार थिरूप्रसाद नेपालको जन्म ११ मे १९५७ मा सिक्किमको नाम्चीमा भएको हो। उनले हालसम्म आठ वटा कथा सङ्ग्रह र दुई वटा कविता सङ्ग्रह प्रकाशित गरिसकेका छन्। उनको एक हिन्दी कथा सङ्ग्रह पनि प्रकाशित भइसकेको छ भने उनका केही कथाहरू अङ्ग्रेजी, राजस्थानी, हिन्दी, बङ्गला लगायत भाषामा अनूदित भएका छन्। नेपाली साहित्यमा पुर्याएको योगदानका लागि उनी यसअघि पनि विभिन्न पुरस्कारबाट सम्मानित भइसकेका छन्।










