थकान कम गर्न र निद्रा सुधार्न अपनाउनुस् यी ५ उपाय

IMG-20250427-WA0088(1)

संसारमा थकान महसुस नहुने मान्छे सायदै होलान्। कहिलेकाहीँ थकाइ लाग्नुको प्रमुख कारक तत्व निद्रा पनि हुनसक्छ।
रातको मिठो निद्राको रहस्य तपाईंको दिनचर्यामा लुकेको हुन्छ भन्ने कुरा तपाईंलाई थाहा छ? केही उपाय अपनाउनुभयो भने थकान कम गर्न र निद्रामा सुधार ल्याउन सकिन्छ।
यद्यपि रातमा राम्रो निद्रा पर्ने कुरा केवल रातको कार्यतालीकासँग मात्र जोडिएको छैन। फ्रेस महसूस गर्ने कुरा केवल रातको निद्रामा मात्रै निर्भर हुँदैन।
केही यस्ता चिजहरु पनि हुन्छन् जसलाई दिनमा गर्नु पर्दछ र त्यस्ता कामले पनि तपाईंको स्वास्थ्यमा प्रभाव पार्दछन्।
यस्ता ५ वटा कामहरु छन् जसबाट तपाईंले आफूलाई अधिक फुर्तिलो महसूस गर्नुका साथै आफ्नो इनर्जी लेभल पनि बढाउन सक्नुहुन्छ। साथै यसले तपाईंको निद्राको गुणस्तर बढाउन पनि मद्दत गर्दछl
शरीरमा आइरनको स्तर थाहा पाउनुहोस्:
संसारमा औसतमा एक तिहाइ मानिसहरु शरीरमा फलाम तत्वको कमीबाट पीडित छन्।
खासगरी शिशु तथा बालबालिका, किशोरी तथा प्रजजन उमेरका महिलाहरु, गर्भवती महिला, खेलाडी, शाकाहारी मानिस तथा नियमित रुपमा रक्तदान गर्ने मानिसमा रक्तअल्पता अर्थात् एनिमियाको खतरा धेरै हुन्छ।
आइरनको कमीबाट जुधिरहेका मानिसमा धेरै थकाई लाग्नुका साथै बेचैनी तथा अनिद्राको पनि समस्या हुन्छ।
यदि तपाईं आफ्नो निद्राको ढाँचामा परिवर्तन गर्दा समेत थाकेको महसुस गर्नुहुन्छ भने तपाईंले हेमोग्लोबिन लगायतका रक्त परीक्षणका लागि डाक्टरको परामर्श लिनुपर्ने हुन्छ। हेमोग्लोबिनले सरीरमा अक्सिजनको आपूर्ति गर्दछ भने फेरिटिनले रगतमा आइरनलाई बाँध्दछ।
तर तपाईंमा आइरनको कमीको समस्या छैन भनेपनि तपाईं आफ्नो पोषणप्रति सजग रहनुपर्दछ ताकि त्यस्तो समस्या नआओस्। त्यसका लागि माछा, मासु, अण्डा, गेडागुडी, हरियो सागपात तथा भिटामिन सी युक्त खानेकुरा पर्याप्त मात्रामा खानुपर्छ।
हरियो सागपात र ताजा फलफूल खानुहोस्:
विभिन्न अध्ययनहरुले के देखाएका छन् भने पर्याप्त मात्रामा फलफूल तथा सागपात खाने मानिसको निद्रा अन्य मानिसको भन्दा राम्रो हुन्छ।
धेरै फास्टफूड तथा सफ्ट ड्रिंक्स खाने मानिसमा भने अनिद्राको समस्या देखिने गर्छ। अध्ययन अनुसार भूमध्यसागरीय भोजन खाने मानिसको निद्रा धेरै नियमित हुन्छ।
यस्ता भोजनमा सागपात, फलफूल, नट्स, गेडागुडी, फाइबरयुक्त अन्न तथा कम चिल्लो भएका दुग्ध पदार्थ हुन्छन्।
स्वीडेनमा युवाहरुमाथि गरिएको एक अध्ययनले के देखाएको छ भने जब युवाहरुले धेरै चिल्लो तथा गुलियो खाने कुरा खान्छन् तब उनीहरुको मस्तिष्कका तरंगमा परिवर्तन आउँछ र उनीहरुको गहिरो निद्रा प्रभावित हुन्छ। तर, जब उनीहरुले कम चिल्लो तथा कम गुलियो खानेकुरा खान्छन्, तब उनीहरुको निद्रामा सुधार आउँछ।
एक अर्को अध्ययनले दिनमा ६ पटक फलफूल तथा सागपात खाने मानिसमा तीन महिनामै अनिद्राको समस्यामा सुधार आएको देखाएको छ।
साथै हप्तामा कम्तिमा पनि ५ पटक हरियो सागसब्जी खाएका बालबालिका अन्यको तुलनामा फुर्तिला हुनुका साथै उनीहरुमा राम्रो निद्रा पर्ने देखिएको छ।
शोधकर्ताहरुका अनुसार फलफूल तथा सागपातमा पाइने भिटामिन ए, भिटामिन सी जस्ता तत्वहरुले सरीरमा लवणलाई पचाउनमा मद्दत गर्दछन् र आइरन जस्ता लवणले निद्रामा सहयोग गर्दछन्।
व्यायाम गर्नुहोस्, चाहे बेलुकीमै किन नहोस् यद्यपि शारीरिक व्यायाम र निद्राको बीचमा रहेको सम्बन्ध पत्ता लगाउने कोसिस अहिले पनि भई रहेको छ। तर, आम रुपमा के देखिएको छ भने व्यायामले गहिरो तथा लामो निद्रा लिनमा सहयोग गर्दछ। तथापि धेरैभन्दा धेरै व्यायाम गर्दा धेरै निद्रा आउँछ भन्ने चाहिं होइन । ६६ वटा विभिन्न अध्ययनको विश्लेषण गरी तयार पारिुएको एक रिपोर्ट अनुसार दिनमा केही समयका लागि व्यायाम गर्नु निद्राका लागि फाइदाजनक हुन्छ, जबकि नियमित व्यायामले निद्राको गुणस्तरमा सुधार ल्याउँछ।
केही शोधकर्ताहरुका अनुसार निद्राको ढाँचामा परिवर्तनका लागि निकै धेरै वा दिनहुँ व्यायामको पनि आवश्यकता छैन। एक अध्ययनले त दिनहुँको व्यायाम भन्दा हप्तामा ३ दिन गरिने व्यायाम धेरै लाभदायक हुने देखाएको छ। तथापि हल्का व्यायाम वा दिनहुँ १० मिनेटको व्यायामले पनि निद्राको गुणस्तरमा सुधार ल्याउँछ। बेलुकीमा, खासगरी सुत्नु भन्दा दुई घण्टाअघि गरिने व्यायामले निद्रामा समस्या आउँदैन।
मदिरा र धुम्रपान छाड्नु होस्:
धुम्रपान र अनिद्राबीच गहिरो सम्बन्ध हुन्छ। साथै धुम्रपानले थकान र अपूरो निद्राको समस्या पनि निम्त्याउँछ। कतिपयलाई रक्सी पिएपछि मज्जाले धेरै निद्रा लाग्छ भन्ने लागेको हुनसक्छ। तर त्यस्तो होइन। रक्सीले त उल्टै अनिद्राको समस्या बढाउँछ। यद्यपि सुत्नुभन्दा २ घण्टा पहिले हल्का मदिरापान गर्दा राम्रो निद्रा आउँछ। तर त्यो केवल पहिलोपटक रक्सी पिउँदा मात्रै हुने हो।
यदि बेलुकीमा सधैं रक्सी पिउने बानी गरेमा निद्रा लाग्नुको साटो अनिद्राको समस्या पैदा हुने तथा आधा रातमा जागा भएर त्यसपछि निद्रा नलाग्ने समस्या हुन्छ। वास्तवमा रक्सी पिउनाले हाम्रो दैनिकीको ढाँचा नै गडबड बन्दछ। हाम्रो कुल निद्राको मात्रा कम हुनसक्छ र स्वासप्रस्वाससँग सम्बन्धित समस्या, जस्तै स्लीप एप्निया झनै जटिल बन्दछ।
खाजा कहिल्यै नछाड्नु होस्:
बिहानको खाजा र सरीरको वजन घटाउने कुराबीच कुनै सम्बन्ध रहेको विषयमा हालसम्म कुनै प्रमाणित तथ्य छैन। तर विभिन्न ४३ वटा अध्ययनले के देखाएका छन् भने बिहानको खाजाले हाम्रो स्मरण शक्ति तथा चैतन्यतामा वृद्धि गर्दछ। यद्यपि आम रुपमा यसको निकै कम प्रभाव हुन्छ, तर यो दूरगामी हुन्छ।
यो कुरा बच्चामा पनि लागू हुन्छ। बिहान उठेपछि नास्ता खाने बच्चाहरु बढी फूर्तिला तथा स्मरणशक्ति तेज भएका हुन्छन्। केही अध्ययनहरुले बिहानको नास्ताले हामीमा थकानको महसुस पनि कम गराउने देखाएका छन्।
वास्तवमा एक निर्धारित समयमा भोजन गर्नुपनि लाभदायक हुनसक्छ। ताइबानमा १८०० जना विद्यार्थीमा गरिएको अध्ययन अनुसार जो मानिसले अनियमित समयमा भोजन गर्दछ उसलाई बढी थकाइ लाग्दछ।
एक अध्ययन अनुसार हाम्रो खानपानले हाम्रो शरीरको लय वा जैविक घडीमा असर पार्दछ र जैविक घडीले पनि हाम्रो खानपानमा प्रभाव पारेको हुन्छ।
यदि तपाईंलाई बढी थकान महसुस हुने समस्या छ भने घरबाट निस्किनुअघि केही अण्डा वा एक कचौरा दालको झोल खानु थकान भगाउने सबैभन्दा सजिलो उपाय हो।

About Author

Advertisement