त्रिशूलीमा बगेका बस र यात्रु एक सातमा पनि भेटिएनन्, भारतीय उद्दार टोली फर्किंदै

IMG-20240728-WA0218
काठमांडू: त्रिशूली नदीमा खसेर बेपत्ता दुई बस र यात्रु खोजीमा सघाउन भारतबाट आएको उद्धार टोली आज (आइतबार) स्वदेश फर्केको छ। एक हप्ताको समय लिएर भारतबाट २० जुलाई शनिबार  चितवन आइपुगेको राष्ट्रिय आपदा मोचन बलका १२ सदस्यको टोली आफ्नो अवधि पूरा भएकाले आज भारत फर्किएको छ। 

यसबीच उसले बेपत्ता न बस, न यात्रु केही पनि फेला पार्न सकेन। गत १२जुलाई शुक्रबार बिहान पहिरोमा परेर त्रिशूलीमा बगेका २ बसको अवस्था अझै अज्ञात छ।
काठमांडूबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमांडूतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका-२९, सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा बगेका थिए।
बसमा सवार ६५ यात्रुमध्ये ३ जनाले पौडिएर ज्यान जोगाए पनि बाँकी सबै बेपत्ता भएका थिए। तीमध्ये हालसम्म २५ जनाको शव फेला परेका छन् भने बाँकी यात्रुको अवस्था अझै पत्ता लाग्न सकेको छैन।
घटनाकै दिनदेखि नेपाली सेना, नेपाल प्रहरी, गोताखोर टोली खोजीमा खटिए। एक हप्तासम्म खोजी गर्दा २५ जनाको मात्र शव फेला पर्‍यो। नेपाली स्रोतसाधनले दुई बस र बाँकी यात्रु फेला पार्न नसकेपछि सरकारले भारतबाट उद्धार टोली झिकाएको थियो।
भारतबाट राष्ट्रिय आपदा मोचन बलका १२ सदस्यको टोली शनिबार (२०जुलाई ) चितवन आइपुगेको थियो। उक्त दिन टोलीलाई जिल्ला प्रशासन कार्यालय चितवनको हलमा दुर्घटनाबारे दुर्घटनाको टोलीलाई ब्रिफिङ गराइयो।
उक्त टोली भोलिपल्ट २१जुलाई बिहानैबाट प्रविधिसहित नेपाली उद्धार टोलीसँगै घटनास्थलदेखि नारायणी नदीसम्म खोजीमा खटियो। एकहप्ताको समय लिएर आएको भारतीय टोली शनिबार (हिजो) सम्म खोजीमा जुट्यो। तर न बस फेला परे, न त थप एकजना यात्रु।
अब भारतीय टोली आज (आइतबार) भारत फर्केको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। ‘उनिहरू (भारतीय उद्धारकर्मी) आएकै एक हप्ताका लागि हो,’ प्रमुख जिल्ला अधिकारी यादवले भने ७, ‘सात दिनका लागि आउनुभएको थियो, आज बिदाइ गर्यौ । यो अवधिमा गरिएको खोजी कार्य विविध कारणले सफल हुन सकेन। यो दु:खद् कुरा हो। तर नेपाली उद्धार टोली खटिरहेका छन्।’
भारतीय टोली स्वदेश फर्किने भए पनि नेपाली उद्धार टोलीले भने खोजी जारी नै राखेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी एसपी श्री राम भण्डारीले जानकारी दिए। उनका अनुसार आज पनि बिहानैबाट खोजी सुरु भइसकेको छ।
‘केराबारी भन्ने स्थानमा पानीको भुल्का छुटेको भन्ने खबर छ,’ भण्डारीले भने, ‘सो स्थानबाट खोजी सुरु गरेका छौँ। बसको अवशेष देखिएको त होइन, तर पनि पानीको भुमरीको आधारमा बस हो कि भन्ने शंकाले मात्रै उक्त स्थानमा खोजी गर्न थालेका हौँ।’
दुर्घटनापछि निरन्तरको वर्षाका कारण नदीमा दैनिक बाढी आइरहेको छ। धमिलो पानीका कारण खोजी कठिन बनिरहेको डीएसपी भण्डारी बताए। उनका अनुसार दैनिक ६५/७० जना खोजीमा खटिरहेका छन्।
भण्डारीका अनुसार हालसम्म फेला परेका २५ शवमध्ये १७ वटाको मात्र सनाखत भएको छ। जसमा ऋषिपाल साह, विकास परियार, रमितकुमार माझी, जयप्रकाश ठाकुर, सजाद अन्सारी, सुदीप विक, परमानन्द पण्डित, किशोरकुमार चौधरी, अशोककुमार यादव, ऋषिकुमार सिंह, विवेककुमार, जितेन्द्र राम महरा, चन्द्रप्रभा कुमारी, अमृता कुमारी, तुल्सी दास, सनबाज अलाम, माइला भनिने राजेन्द्र लामिछाने छन्।
८ शवको भने अझै परिचय पत्ता लाग्न सकेको छैन। जसमा ६ पुरुष र २ महिला छन्। सुरुसुरुमा भेटिएका शव परिवारलाई जिम्मा लगाउन सजिलो भएको अनुभव सुनाउँदै डीएसपी भण्डारीले भने, ‘पछिल्लो समय भेटिएका शवको अवस्था नाजुक भएकै कारण परिवारले समेत सनाखत गर्न सकेका छैनन्। शवहरू अस्पतालको शव गृहमा राखिएका छन्।’

About Author

Advertisement