कोलकाताः पश्चिम बंगालमा पञ्चायत चुनाउ अवधि भारी हिंसाको जायजा लिनको निम्ति भाजपाको दुई प्रतिनिधिमण्डल आइसकेको छ। अब हिंसाग्रस्त मणिपुरमा स्थितिको जायजा लिन बंगालको सत्ताधारी पार्टी तृणमूल कांग्रेसको प्रतिनिधिमण्डल मणिपुर गइरहेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा आज, बुधवार राज्यसभा सांसद डेरेक ओ ब्रायन, डोला सेनका साथै काकोली घोष दस्तीदार, कल्याण ब्यानर्जी र सुष्मिता देवको पॉंच सदस्यीय टीम मणिपुरको निम्ति प्रस्थान भएको छ। बिहान कोलकाता हवाई अड्डाबाट प्रतिनिधिमण्डलले उडान भरेको छ।
तृणमूल कांग्रेस सूत्रहरू अनुसार, मणिपुरमा हिंसा प्रभावित क्षेत्रहरूको भ्रमण गरेर त्यहॉंका स्थानीय मानिसहरूसॅंग कुराकानी पनि गरिने छ। त्यहॉं शान्ति सुनिश्चित गर्न सरकारसॅंग मिलेर रणनीतिमाथि चर्चा गर्ने दाबी गरिएको छ। गत शुक्रवार नै तृणमूल कांग्रेसको उक्त प्रतिनिधिमण्डल मणिपुर जाने निश्चित थियो, तर कथित रूपमा मणिपुर सरकारको अनुरोधपछि उक्त भ्रमण स्थगित गरिएको थियो।
उल्लेखनीय छ, मणिपुरमा भएको हिंसामा अहिलेसम्म १०० भन्दा धेरैको मृत्यु भएको छ। त्यहॉं भारतीय सेना र अर्धसैनिक बलका जवानहरूले शान्ति व्यवस्था सुनिश्चित गर्न मोर्चा सम्हालेका छन्।
-हिस









