काठमाडौं (नेपाल): यही २३ फरवरी (फागुन ११)बाट रिलिज हुने फिल्म ‘गोर्खा वारियर’ले रिलिजअघि नेपालका प्रमुख तीन शहरमा काठमाडौं, धरान र पोखरामा रेड कार्पेट प्रिमियर गर्ने भएको छ। फिल्मका निर्देशन मिलन चाम्सका अनुसार मोफसलका ‘लाहुरेको शहर’ भनेर चिनिने धरान र पोखरामा क्रमशः १७ फरवरी (फागुन ५ गते) र १९ फरवरी (फागुन ७ गते) रेड कार्पेट प्रिमियर गरिनेछ। त्यसपछि फागुन २१ फरवरी (फागुन ९ गते) काठमाडौंको बिग मूभिजमा प्रिमियर गरिनेछ। ‘हामीले केही दिनअघि मात्र फिल्म प्रचारका लागि उपत्यकाबाहिरका छह शहर (धरान, हेटौंडा, नारायणघाट, बुटबल, पाल्पा र पोखरा)को यात्रा गरेका थियौं। ती सहरका दर्शकले फिल्म प्रिमियरको माग गरेपछि तीन सहरमा प्रिमियर गर्न लागेका हौं’, निर्देशक चाम्सले भने।
फिल्मको यस अघि इंग्ल्याण्डमा हलिउड फिल्मको प्रिमियर केन्द्र मानिएको लण्डनको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा गत भदौ २४ गते अन्तराष्ट्रिय प्रिमियर गरिएको थियो। निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन रहेको फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरुले अभिनय गरेका छन्। फिल्म नेपाली, हिन्दी, अङ्ग्रेजी र कोरियन गरी चार भाषामा निर्माण गरिएको छ। लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मका निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन्। यसको कार्याकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सह–निर्मातामा सुरेश राई रहेका छन्।









