तीन दिनव्यापी ग्रीष्म कालीन शिविरको समापन

नाम्ची। तीन दिनव्यापी ग्रीष्म कालीन शिविरको समापन कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रम नाम्ची जिल्लाअन्तर्गत लुङचोक-कमरे जीपीयूको ग्राम प्रशासन केन्द्रमा सम्पन्न भएको थियो। शिविरमा स्थानीय विद्यार्थी नानीहरूलाई ग्रीष्म कालीन विदाको सदुपयोग गराउँदै जीवन कौशल गतिविधिहरू बुझाउन रहेको थियो।
समापन कार्यक्रममा विधायक राजकुमारी थापा मुख्य अतिथि रहेकी थिइन्। कार्यक्रममा सम्बाेधन गर्दै विधायक राजकुमारी थापाले यस प्रकारका शिविरकाे आयाेजना गरेकाेमा स्थानीय पञ्चायतगणकाे प्रशंसा गरिन्। विद्यार्थीहरूसँग उत्प्रेरणात्मक कुरा गर्दै शिविरमा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न अनुराेध गरिन्। उनले सबैसँग आ-आफ्नै क्षमता र याेग्यता हुन्छ, एक-अर्काकाे क्षमता र याेग्यतालाई सम्मान गर्नुपर्छ भनिन्।
विधायकले भनिन्, हामी समाजकाे लागि महत्वपूर्ण भएकाे कारण समाजमा राम्राे काम गर्नुपर्छ। शिक्षामा मात्र प्रथम नभएर जीवनमा प्रथम हुने काम गर्नुपर्छ। विद्यार्थीहरूलाई नराम्राे संगत र व्यवहारदेखि टाडा बसेर जीवनमा सफल हुन परिश्रम गर्नुपर्ने उल्लेख गर्दै उनले आचरण र समयकाे मूल्यमाथि प्रकाश पारिइन्।
स्थानीय पञ्चायत सभापति देउराज राईले यस शिविरकाे औचित्य विषय प्रकाश पार्दै शिविरलाई सफल बनाउन सहयाेग पुऱ्याउने सबैलाई धन्यवाद दिए। उनले छिट्टै फेरि पनि स्थानीय नानीहरूलाई एक दिने पञ्चायत सभापति बनाउने जानकारी गराए। यस क्रममा मुख्य अतिथि र अन्य अतिथिगणले विभिन्न प्रजातिका बिरुवा पनि राेपण गरे।
कार्यक्रममा स्थानीय पञ्चायतगणले समाज सेवक माेहन दिलपालीलाई अभिनन्दन गरेका थिए। उल्लेखनीय छ, स्थानीय पञ्चायतगणले आयाेजना गरेकाे यस शिविरलाई सफल बनाउनका लागि स्राेत वक्ताकाे रूपमा सहायक निर्देशक गंगाप्रसाद दहाल, पेसेफिक कल्ब मिङ्लेका कार्यकारीणी निर्देशक विष्णु पाेख्रेल, शिक्षा विभागका सहायक निर्देशक डा. राेशन प्रधान, समाज सेवक साेमबहादुर राई, सन्ताेष गिरी आदि रहेका थिए।
कार्यक्रममा शिविरमा सहभागी हुने विद्यार्थीहरूले आआफ्नो अनुभव पनि साँझा गरेका थिए। कार्यक्रममा साँस्कृतिक नृत्य, गीत आदि प्रस्तुत गरिएको थियाे। कार्यक्रममा वरिष्ठ नागरिक एनआर राई, पूर्व पञ्चायतगण आदिकाे पनि उपस्थिति रहेकाे थियाे।

About Author

Advertisement