खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे चियाबारीमा रहेको ८४ वर्षीय वृध्दा मनफूल तामाङको चुहुने घर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा प्रतिनिधिहरूले मिलेर मरमत्ति गरिदिएका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे चियाबारीको संयोजक युवराज प्रधानको पहलमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री, युवा शक्तिको संयोजक साजन दर्जी र विद्यार्थी संगठनको तीनधारे महानदी समष्टिको सचिव सुभम प्रधान आदिले निरीक्षण गरेर बोजुको सुत्ने ठाउँमा चुहुने छाना मरमत्ति गरिदिएका छन्। विशेष गरी पार्टीगत रूपमा मात्रा आशा नगरेर अथवा सरकारी रूपमा मात्रा आशा नगरेर आगामी वर्षाको समय अघि नै स्थानीय पार्टी कार्यकर्ताहरूले आफै मिलेर वृध्दाको सुत्ने कोठामा चुहुने भएको कारणले सबै मिलेर छाना मरमत्ति गरिदिएका छन्।

मनफूल तामाङको पतिले ४० वर्ष अघि बनाएको घर अहिले अत्यन्तै जीर्णावस्थामा पुगेको कारणले उक्त वृध्दाले स्थानीय युवराज प्रधानलाई गुहार लगाएपछि युवराज प्रधानकै पहलमा सबै मिलेर बोजुको घरको छाना मरमत्ति गरिने कार्य सम्पन्न भएको छ। उक्त मरमत्तिको कार्यमा क्षेत्रीय सभासद नवराज छेत्री, युवा शक्तिको संयोजक साजन दर्जी, विद्यार्थी संगठनको सचिव शुभम प्रधान, तीनधारे चियाबारीको संयोजक युवराज प्रधान र अन्यहरू आदि उपस्थित रहेका थिए। सबैको सहयोगमा वृध्दा बोजुको छुहुने घरको मरमत्ति गरिएको छ। लगभग ४० वर्षपछि उक्त घरको मरमत्ति कार्य गरिएको छ। भत्किसकेको उक्त घरमा अहिले पनि वृध्दाको दुईजना छोराहरू क्रमैले टेकवीर तामाङ र फुलवीर तामाङ लगायत दशजना सदस्य सदस्याहरू बस्ने गरेको बताइएको छ। अहिलेलाई उक्त घरको चुहुने छाना मात्रै मरमत्ति गरिएको छ भने भविष्यमा घर नै बनउन पहल गरिने भएको छ। वृध्दाको चुहुने घरको छाना मरमत्तिको लागि युवा शक्तिको संयोजक साजन दर्जीले च्यादरहरू दिएका छन् भने सुभम प्रधानले काम गर्नेहरूलाई हाजिरा, रेमो तामाङले च्यादरहरू ठोक्नलाई बटमहरू प्रदान गरेको, अर्जुन छेत्रीले खानाको व्यवस्था गरिदिएको साथै कसैले आफ्नो परिश्रम दिएर सहयोग गरेको अनि कसैले विभिन्न प्रकारले सहयोग गरेको जानकारी प्राप्त भएको छ। ४० वर्ष पहिले बनाएको उक्त घर अहिले पूर्ण रूपमा जीर्णावस्थामा पुगेको छ। उक्त जीर्णावस्थामा पुगेको घरको काठहरू सबै मक्किएको अवस्थामा रहेको छ भने छानाको च्यादर पनि छुहुने भएको थियो। त्यसैले आज बोजु सुत्ने कोठामा पानी नचुवोस् भनेर मरमत्ति गरिएको छ भने जीर्णावस्थामा रहेको घरलाई नयाँ बनाउन पनि पहल गरिने भएको छ। यस अवसरमा वृध्दा मनफूल तामाङले आफ्नो ओछ्यानमा छाना चुहुने भएकोले धेरै असुविधा भईरहेको र यो घर ४० वर्ष अघि निर्माण गरिएको बताइन्। उनले चुहुने छाना मरमत्तिको लागि स्थानीय युवराज प्रधानलाई गुहार लगाएको बताइन्।

त्यसरी नै छाना मरमत्ति विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो तीनधारे चियाबारीको संयोजक युवराज प्रधानले तीनधारे चियाबारीको यस घरमा एकजना वृध्दासहित जम्मा १० जना सदस्यहरू बस्ने गरेको तर ४० वर्षदेखि कुनै मरमत्ति नगरिएको कारणले घर जीर्णावस्थामा पुगेकोले हामीले मिलेर बोजुको कोठामा पानी नचुवोस् भनेर नयाँ छाना लगाउने कार्य गरिएको जनाएका छन्। उनले हामीले यस्ता कतिवटा कुरामा पार्टीलाई नै नभनेर आफैहरू मिलेर कार्य गरेको जानकारी गराउँदै सबैले आफ्नो आफ्नो पक्षबाट सहयोग गरेको जानकारी गराएका छन्। युवराज प्रधानले यस घटक छाना मरमत्तिको लागि कसैले च्यादर, कसैले बटम, कसैले श्रमदान, कसैले हाजिरा, कसैले खानाको पैसा सहयोग गरेको जानकारी गराउँदै सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। प्रधानले क्षेत्रीय सभासद नवराज छेत्रीले घरको निरीक्षण गरी जीटीए चिफ् अनित थापा समक्ष कुरा गरिदिने र घर निर्माणको लागि पहल गरिदिने वचन दिएको बताएका छन्।









