तीनधारेमा २०८ औं भानु जयन्ती समारोह सम्पन्न

IMG-20220713-WA0225.jpg

आदि कवि भानुभक्त आचार्य नेपाली भाषाको जनक हुन्: बिक्रम मंगर

खरसाङ: साहित्य कला संस्थान तीनधारेको आयोजनामा तीनधारेमा आदि कवि भानुभक्तको २०८औं जन्म जयन्ती पालन गरिएको छ। कार्यक्रमको पूर्वार्ध्दमा तीनधारेको क्रिकेट बजारस्थित चिल्ड्रेन पार्कमा रहेको आदि कवि भानुभक्तको सालिगमा श्रध्दाञ्जली कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम साहित्य कला संस्थान तीनधारेको सभापति रञ्जनकुमार रसाईली र शिक्षक बिक्रम मंगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। संस्थानको सचिव सन्तोष लामाले सञ्चालन गरेको कार्यक्रममा सभाध्यक्ष र प्रमुख अतिथिको बाहुलीबाट धुप दीप प्रज्वलन गरी साथै संस्थानको पदाधिकारीहरू लगायत उपस्थित जनसाधारणल् आदि कवि भानुभक्त आचार्यको सालिगमा खदार्पणसहित श्रध्दाञ्जली अर्पण गरेका थिए। तीनधारेमा सम्पन्न २०८औं भानु जयन्ती विषयमा साहित्य कला संस्थानको सचिव सन्तोष लामाले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्। त्यसरी नै उत्तरार्ध्दको कार्यक्रम अनुसार तीनधारेको महात्मा गाँधी हलमा २०८औं भानु जयन्ती कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता साहित्य कला संस्थान तीनधारेको सभापति रञ्जनकुमार रसाईलीले गरेका थिए भने प्रमुख अतिथिको रुपमा शिक्षक बिक्रम मंगर उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पूर्व प्रधान अध्यापिका मार्थारानी राई र तीनधारे महानदी समष्टिको नव निर्वाचित सभासद नवराज छेत्री उपस्थित रहेका थिए। कार्यक्रममा स्वागत सम्भाषण संस्थानको सचिव सन्तोष लामाले राखेका थिए भने कार्यक्रमलाई गीतकार सुकुमार बराईलीद्वारा सञ्चालन गरिएको थियो। कार्यक्रमको शुरुमा सभाध्यक्ष, प्रमुख अतिथि र विशिष्ट अतिथिहरूद्वारा आदि कवि भानुभक्त आचार्यको तस्वीरमा धुप दिप प्रज्वलन साथै खदार्पण गरी श्रध्दाञ्जली अर्पण गरिएको थियो। कार्यक्रमको शुरुमा मणिपुरको पैह्रोमा परेर ज्यान गुमाएका जवानहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै उनीहरूको आत्मा शान्तिको लागि मौन प्रार्थना पनि गरिएको थियो। कार्यक्रममा सुवास बान्तावा, मिलन प्रधान, गरिमा शर्मा, प्रयास प्रधान, मञ्जु शर्मा, नवराज राई, दिप गहतराज आदिले कविता पठन गरेका थिए भने गैरी गाउँका गोदावारी संघको नानीहरू र तीनधारे कन्या उच्चतर माध्यमिक विद्यालयका छात्राहरूले रामायण पाठ गरेका थिए। त्यसरी नै रेणुका कन्या उच्च माध्यमिक विद्यालयका दुईजना विद्यार्थीहरूले कविता वाचन साथै लोक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा स्वागत नृत्य मित्र संघ गोलाई पाखाको नानीहरूले प्रस्तुत गरेका थिए भने गायक राकेस लामा र ईशान्त विश्वकर्मले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा आदि कवि भानुभक्त आचार्यको जीवनी उत्तम शर्माले राखेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै शिक्षक बिक्रम मंगरले आदि कवि भानुभक्त आचार्य नेपाली भाषाको जनक हुन् भन्दै जातीय एकीकरणको लागि मुख्य भूमिका निर्वाह गरेका थिए भनी बताएका छन् । उनले नै सबै भाषहरूलाई एकबध्द बनाएर नेपाली भाषाको एकीकरण गरेका थिए भन्दै आदि कवि भानुभक्त आचार्यको योगदानलाई हामीले बिर्सनु हुँदैन भनी बताएका छन्। कार्यक्रममा सभाध्यक्षको रुपमा बोल्दै रञ्जनकुमार रसाईलीले हामीले भानु जयन्ती पालन गर्न बिर्सनु हुँदैन भन्दै तीनधारेमा भानु जयन्ती निरन्तर रुपमा पालन गर्नु पर्ने आह्वान् गरेका छन्।

About Author

Advertisement