पहिलो दिनको खेलमा तीनधारे युनाईटेड र लिंकन क्लब सिपाहीधुरा बिजय
खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा तीनधारेको सत्र माइल युवाहरूका आयोजनामा क्रिकेट टुर्नामेन्ट शुरु भएको छ। आजदेखि शुरु उक्त १५ ओभरको क्रिकेट टुर्नामेन्टको पहिलो खेल प्रगति संघ मिठाई डाँड़ा र तीनधारे युनाईटेडमाझ सम्पन्न भएको थियो। उक्त पहिलो खेलमा प्रगति संघले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएर तीनधारे युनाईटेडलाई ब्याटिङको लागि आमन्त्रित गरेको थियो। तीनधारे युनाईटेडले पहिला व्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा १३७ रनको लक्ष्य दिएको थियो। यस लक्ष्यलाई खेदो गर्दै प्रगति संघ मिठाईडाँड़ाले केवल १०४ रन मात्र बनाउन सकेको थियो अनि तीनधारेले खेल जितेर दोस्रो चरणमा प्रवेस गरेको छ। यस खेलमा गौरव मुखियाले ३ ओभर बलिङ गरेर ह्याट्रिकसहित ६ विकेट लिएका थिए। यस खेलमा कृष्ण पोर्तेल र शामूएल पोर्तेलले सर्वाधिक रन बनाएका थिए। त्यसरी नै दोस्रो खेल लिंकन क्लब सिपाहीधुरा र शंकर निवासमाझ खेल सम्पन्न भएको थियो। यस खेलमा शंकर निवासले टस जितेर पहिला व्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा ११३ रनको लक्ष्य दिएको थियो। लक्ष्यलाई पिछा गर्दै लिंकन क्लब सिपाहीधुराले केवल १२ ओभरमा नै पाँच विकेट गुमाएर लक्ष्य हाँसिल गरेर सजिलै खेल जितेर दोस्रो चरणमा गरेका छन्। यस खेलमा आकाशले सर्वाधिक ४६ रन बनाएका थिए। यस खेलमा अतिथिको रुपमा सचिन रिजाल, कुमार रुचाल र तीनधारे पुलिस आउट पोष्टको ओसी मानव रोय उपस्थित रहेका थिए। यस खेलमा निर्णायकको रूपमा विशाल गजमेर र राजीव प्रधान रहेका थिए। भोलि हुने पहिलो खेल गैरी गाउँ तीनधारे र दुई नम्बरमाझ हुने भएको छ भने दोस्रो खेल हिरो बजार र घैयाबारी युनाईटेडमाझ सम्पन्न हुने भएको जानकारी आयोजक समितिको पक्षबाट महेश सुनारले दिएका छन्।










