खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी दुई ग्राम पञ्चायतको आयोजनामा तीनधारेको मिठाईडाँड़ास्थित सार्वजनिक भवनमा स्वच्छ भारत मिशन अनि फोहोर मैला प्रबन्धन विषयमा कार्यक्रम सम्पन्न भएको छ। घैयाबारी ग्राम पञ्चायत दुईको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मुख्य अथितिको रुपमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री विशेष रूपमा उपस्थित रहेका थिए। उक्त कार्यक्रमलाई घैयाबारी ग्राम पञ्चायत दुईको सचिव देवन्ती छेत्रीले सञ्चालन गरेका थिए। उक्त कार्यक्रममा जिल्ला प्रशिक्षक नवराज राई लगायत महकुमा र ग्राम पञ्चायत स्तरीय प्रशिक्षकहरूले प्रशिक्षण दिएका थिए। कार्यक्रममा घैयाबारी ग्राम पञ्चायत दुईभित्र पर्ने विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू र आँगनवाडी कर्मीहरू, आशाकर्मीहरू, स्वनिर्भर दलका प्रतिनिधिहरू साथै प्राथमिक, माध्यमिक, उच्चत्तर माध्यमिक विद्यालयका प्रधान अध्यापक, प्रधान अध्यापिकाहरू र शिक्षक शिक्षिकाहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले घैयाबारी ग्राम पञ्चायत दुईको आयोजनामा सम्पन्न स्वच्छ भारत मिशन अनि फोहोर मैला प्रबन्धन विषयमा राखिएको सचेतना शिविर एंव ट्रेनिङ राम्रो प्रकारले सम्पन्न भएको र जतिजनाले पनि प्रशिक्षण गराए सबै राम्रो र काम लाग्ने कुराहरू रहेको बताएका छन्।











